विराटनगर, २२ माघ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको कार्यवोझका आधारमा मन्त्रालयको संख्या बढ्न सक्ने बताउनु भएको छ ।
प्रदेशलाई अधिकार सम्पन्न बनाएपछि कार्यवोझका आधारमा १ वा २ वटा मन्त्रालय थपिन सक्ने उहाँको भनाइ छ । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसका अवसरमा प्रेस चौतारी मोरङले विराटनगरमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले तत्काल चैँ मन्त्रालयको संख्या नबढाइने स्पष्ट पार्नु भएको छ । ‘प्रदेश निजामति ऐन बन्नु पर्यो । प्रहरी प्रदेश मातहतमा आउनु पर्यो,’ उहाँले भन्नु भयो, ‘प्रदेशलाई अधिकार सम्पन्न बनाउने कानुनहरु निर्माण हुनु पर्यो । त्यसपछि प्रदेश सरकारको कार्यवोझका आधारमा मन्त्रालयहरु बढ्न सक्छन् ।’ अहिलेको अवस्थामा भने मन्त्रालय थप्न आवश्यक नरहेको कार्कीको भनाइ छ । मुख्यमन्त्री कार्की नेतृत्वको प्रदेश सरकारले यसअघि नै १३ बाट घटाएर मन्त्रालयको संख्या ९ बनाइसकेको छ । ‘अहिले प्रदेश सरकारको काम कारबाहीमा केही ढिलाइ भएजस्तो देखिएको छ,’ उहाँले भन्नु भयो, ‘अब सरकारले गति लिनेमा सबैलाई विश्वास दिलाउन चाहन्छु ।’
गठबन्धन सरकार हुँदा काम कारबाहीमा अलमल भएजस्तो देखिएपनि अब त्यस्तो नहुने कार्कीको भनाइ छ । उहाँले प्रदेशमा पत्रकारमैत्री कानुन निर्माणमा सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो । प्रदेश सञ्चार प्रतिष्ठानलाई पुनः ब्युँताइने उहाँको भनाइ छ । ‘हिजोको सरकारले के कारण प्रतिष्ठानलाई खारेज गरेको हो भन्ने कुरा हामीलाई थाहा छ,’ उहाँले भन्नु भयो, ‘अब कानुन बनाएर सरकारले प्रतिष्ठानलाई अघि बढाउने छ ।’ पत्रकारिता क्षेत्रको विकासका लागि सञ्चार प्रतिष्ठान आवश्यक रहेको मुख्यमन्त्री कार्कीको कथन छ ।
यसैबीच प्रेस चौतारीको स्थापना दिवसको अवसरमा आज विराटनगरमा २ जना पत्रकारलाई पुरस्कृत गरिएको छ । ११ हजार १ सय रूपैयाँ राशिको कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार दिनेश सुब्बा र १५ हजार ५ सय राशिको जनार्दन मैनाली पत्रकारिता पुरस्कार तेजेन्द्र भण्डारीलाई प्रदान गरिएको हो । मोरङ कानेपोखरीका सुब्बा धरानबाट प्रकासित हुँदै आएको ब्लाष्ट टाइम्स दैनिकमा कार्यरत हुनुहुन्छ । विराटनगरका भण्डारी विराटनगरकै रातो तारा डटकम अनलाइनका सञ्चालक एवं सम्पादक हुनुहुन्छ । दुवै जनालाई मुख्यमन्त्री कार्कीले पुरस्कृत गर्नु भएको हो ।