जिवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सकलाई कारवाहीको माग

विराटनगर, ५ माघ । जिवित शिशुलाई मृत घोषणा गर्ने कोशी अस्पताल विराटनगरका चिकित्सकलाई कारवाही गर्न यूवा संघ विराटनगरले माग गरेको छ ।

अस्पतालका डा. आकाश यादव, अहेव लक्ष्मण माझी, टीका भण्डारी साथै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवलाई तत्काल निलम्बन गरी कारबाहीको माग गर्दै यूवा संघले अस्पताल परिसरमा प्रदर्शन गरेको छ । गैर जिम्मेवारी चिकित्सकलाई कारबाही नगरे आन्दोलन सशक्त ढंगबाट अघि बढ्ने यूवा संघ विराटनगर सचिव निराजन ढुङ्गानाले बताउनुभयो ।
बुधवार बिहान साढे ८ बजे मोरङको जहदा गाउँपालिका ३ का १८ दिने नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि बुबा दिलीप मुखिया र आमा उमा मुखियाले कोशी अस्पताल लिएर आएका थिए ।

डाक्टर आकाश यादवले राम्रोसँग शिशुको उपचार नगरी मृत घोषणा गरेपछि बुधवार अस्पताल दिनभरि तनावग्रस्त बनेको थियो । चिकित्सकले मृत घोषणा गरेको शिशुको अहिले विराटनगरस्थित गोल्डेन अस्पतालको एनआइसियुमा राखेर उपचार भइरहेको छ ।