विराटनगर १५ कार्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद ढकालले सुकुम्बासी र विपन्न समुदायलाई आफ्नै घरको मालिक बनाउँने बताएका छन् ।
चुनावी अभियानका क्रममा क्षेत्र नं. ४ का मतदातालाई भेट्दै ढकालले सुकुम्बासीका रुपमा रहेका मुसहर, बाँतरलगायतका विपन्न समुदायका परिवारलाई पाँच वर्ष भित्रमा आफ्नै घरको मालिक बनाउँने बताएका हुन् । उनले भने ‘विपन्न समुदायलाई आफ्नै घरको मालिक बनाउँन र फुसको छानो विस्थापित गरेर टिनको छानो लगाउन विशेष आवास योजना ल्याउछौँ ।’ सदियौदेखि बसोबास गर्दै आएपनि विपन्न समुदायलाई राज्यले उपेक्षा गरेको भन्दै ढकालले विपन्नका समस्या समाधान आफ्नो मुख्य काम भएको बताए ।
विपन्नको जीवनस्तर उकास्न कृषिलाई आधुनिकीकरण र यन्त्रिकरण गर्ने, कटहरीमा रहेको कृषि बजारलाई व्यवस्थित गर्ने र आवश्यकता अनुसार ग्रामिण कृषि बजारको स्थापना गर्ने र युवालाई रोजगारीसँग जोड्ने आफ्नो योजना रहेको ढकालको भनाइ छ । उनले यस क्षेत्रका नागरिकले गुणस्तरीय शिक्षा पाउनु पर्ने, शिक्षा लिइसकेकाले रोजगारी पाउँनु पर्ने र स्वास्थ्यको सुविधा सहज हुनुपर्ने बताए । उनले यस क्षेत्रको खास समस्या पहिचान गर्ने र त्यसको समाधान गर्न सक्ने मानिसलाई मत दिनुपर्ने बताउँदै आफु यस क्षेत्रका समस्या समाधानका लागि योग्य भएको बताए ।
विगतमा यस क्षेत्रको प्रतिनिधित्व गर्नेले यहाँका समस्या समाधान गर्न नसकेको भन्दै एकपटक आफुलाई विस्वास गर्न उनको मतदातालाई आग्रह थियो । विराटनगरका पाँचवटा वडा, ग्रामथान र कटहरी गाउँपालिका र बेलबारी नगरपालिकाका ३ वटा सहित २३ वटा वडा रहेको मोरङ क्षेत्र नं. ४ बाट यस अघि माओवादी केन्द्रका अमनलाल मोदी विजयी भएका थिए । तिनै मोदी गठबन्धनकातर्फबाट ढकालसँंग चुनावी प्रतिष्पर्धामा छन् ।