मोरङका ६ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

विराटनगर २० असोज । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मोरङका ६ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

विहीबार दिउँसो एकैपटक ६ वटै क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको हो । मोरङ क्षेत्र नं १ को उर्लाबारी नगरपालिका कार्यालय , २ को रतुवामाई नगरपालिका कार्यालय, ३ को साविक बेलबारी नगरपालिकाको कार्यालय, ४ को विराटनगरको हृदयेश बाल उद्दान, ५ को सुनसरी मोरङ सिचाईं आयोजना कार्यालय र ६ को जिल्ला समन्वय समितिको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले जानकारी दिनुभयो ।

क्षेत्र नम्बर ६ को कार्यालय मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको छ । निर्वाचन आयोगले असोज १५ गतेदेखि २० गतेसम्म प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने जनाएको थियो । निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्तादेखि सम्पूर्ण निर्वाचनको कार्यसम्पादन गरिने छ ।