बडा दशैंको आठौं दिन आज महाष्टमी पर्व

विराटनगर, १७ असोज । बडा दशैंको आठौं दिन आज महाष्टमी पर्व । आज हिन्दुहरुले दुर्गाभवानीको विशेष पूजाराधना गरी महाअष्टमी पर्व भव्य रुपमा मनाउँदै छन ।

बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी , महासरस्वती र महागौरीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।

आजको दिन शास्त्र सम्मत रुपमा दसैंघर, कोत लगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ। दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ ।
नेपाल समय

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गर्ने कुरा शास्त्रमा वर्णन गरिएको भनाई नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आजैका दिन राति कालरात्रि पशुबलिको विधि र पूजा राधना सहित मनाइन्छ। कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । आजको दिन कलपुर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएका स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ। यी साधनलाई देवीको शस्त्रास्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो ।