विराटनगर, ७ असोज । मानवअधिकार रक्षकको वर्तमान अवस्था विषयमा पत्रकारहरुसँग छलफल गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ को आयोजनामा शुक्रबार मानवअधिकार रक्षकको अवस्थाका विषयमा छलफल गरिएको हो ।
कार्यक्रममा इन्सेक प्रदेश १ का प्रलेख अधिकृत पुण्य पी अधिकारीले मानवअधिकार रक्षकको वर्तमान अवस्था र मानवअधिकार रक्षकका रुपमा पत्रकारहरुको भूमिकाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मानवअधिकार रक्षकको रुपमा पत्रकारलाई पनि राखिएकाले मानवअधिकार उलंघनका विषयमा र पीडितलाई अधिकार स्थापित गर्ने विषयमा पत्रकारले ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
छलफलमा पत्रकार बाबुराम भण्डारीले सेक्युरिटिज गार्डहरुले न्यून पारिश्रमिकमा काम गर्नुपरिररहेको बताउनुभयो । उहाँले न्यून पारिश्रमिकमा काम गर्न बाध्य श्रमिकहरुको लागि काम गर्न जरुरी रहेको बताउनुभयो । इन्सेक प्रदेश १ कार्यालयका प्रमुख सोमराज थापाले मानवअधिकार रक्षकको वर्तमान अवस्था र अबको भूमिका विषयमा छलफल गरेर विषयहरु उठान गर्ने उद्देश्यले कार्याक्रम आयोजना गरिएको बताउनुभयो । माजनवअधिकार रक्षकका सञ्जालहरुलाई प्रभावकारी रुपमा उपयोग गर्न जरुरी रहेको कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् । पत्रकार केदार चौहानले मानवअधिकार उलंघनका घटनाका विषयमा सूचना पाउन पनि मुस्किल रहेको बताउनुभयो । प्रेस चौतारीका केन्द्रिय सचिव बिक्रम लुईटेलले पत्रकारहरुलाई पनि स्पेशलाइज गरेर मानवअधिकारका विषयमा काम गर्न सक्षम बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले धेरै क्षेत्रमा एएटै पत्रकारले काम गर्दा अलमल हुने र सबै क्षेत्रको विषय विज्ञ पनि बन्न नसक्ने भएकाले पत्रकारहरुलाई पनि विषय विज्ञका रुपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनालले काम गर्दा विचार पुर्याएर काम गरे समस्या नआउने धारणा राख्नुभयो । कार्यक्रममा नागरिक समाजका प्रतिनिधिहरु मञ्जीता उपाध्याय, मिना जोशी, मणिकुमार अज्र्याल लगायतले मानवअधिकार रक्षकको भूमिकाबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा सरुवा भएर काठमाण्डौं जान लाग्नुभएकी राष्ट्रिय मानवअधिकार आयोग प्रदेश १ कार्यालयकी प्रमुख नितु गड्तौलालाई विदाई गरिएको थियो ।
विदाई कार्यक्रममा गड्तौलाले प्रदेश १ को कार्यकाल उत्साहजनक रहेको बताउँदै सहयोग गर्नुहुने सबैलाई धन्यवादसमेत दिनुभयो । विदाई कार्यक्रमममा इन्सेक प्रदेश १ प्रमुख सोमराज थापाले गड्तौलालाई मायाको चिनो र पुष्प गुच्छाप्रदान गर्नुभएको थियो ।