विराटनगर, ४ असोज । साझा सवालका लागि साझा मञ्च (कोकन)को आयोजना र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा मानव बेचविखन तथा ओसारपसार बिरुद्द अभियानकर्मीहरुलाई विपद्मा बाल संरक्षण सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ ।
बाल अधिकार र बाल संरक्षणबारे जानकारी गराउने, बिपद्मा बाल अधिकारका सवाल र मुद्धाहरु ,मनोविमर्शको आवश्यकता र महत्व र सरोकारवालाहरुको भुमिकाको विषयमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको कोकनका कार्यक्रम संयोजक हेमन्तराज पौडेलले जानकारी दिनुभयो ।
तालिमका सहभागि रामधुनी नगरपालिकाका पुजन राउतले ३ दिने तालिममा बाल विवाह, बाल श्रम तथा विपद्मा बाल संरक्षणको बारेमा सिक्ने अवसर पाएको बताउनुभयो । उहाँले विपद्को बेलामा बालबालिकाहरुलाई मनोविमर्शको आवश्यकता र महत्व साथै विपद्को बेलामा बालबालिकामा आउन सक्ने समस्याहरुको बारेमा जानकारी भएको बताउनुभयो । तालिममा सहजीकरण गरिएका बिधिहरु राम्रो लाग्यो र तालिममा सिकेको कुरा समुदायका अन्य बालबालिकाहरुलाई पनि सिकाउने प्रतिबद्दता व्यक्त गर्नुभयो ।
तालिमको सहजीकरण अधिवक्ता कोषराज न्यौपाने , जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख एसपी प्रभु ढकाल, कोकनका अध्यक्ष मञ्जीता उपाध्याय र कार्यक्रम संयोजक हेमन्तराज पौडेलले गर्नु भएको थियो ।
तालिममा बराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका कोशी र बर्जु गाउँपालिकाको २० जना युवा अभियानकर्मीहरुको सहभागिता रहेको थियो ।