पूर्वाञ्चल बाल आश्रममा राष्ट्रिय बालदिवस मनाईयो

विराटनगर २९ भदौ । विराटनगर स्थित पूर्वाञ्चल बालआश्रमले पनि राष्ट्रिय बालदिवस मनाएको छ ।

दिवसका अवसरमा आश्रम परिसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा आश्रमलाई सहयोग गर्ने उद्योगी श्रीनिवास सारडा र डा. अमितप्रताप साहलाई सम्मान गरिएको थियो । डा. साहले समय–समयमा आश्रमका बालबालिकाहरुको निःशुल्क रुपमा दन्त परीक्षण गर्दै आउनु भएको छ ।

दुवै जनालाई प्रदेश–१ की सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाङ्फे, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, आश्रमकी अध्यक्ष सीता पोखरेलले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नु भएको थियो । । त्यस्तै कार्यक्रममा आश्रमका बालबालिकाहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले अहिलेका बालबालिकाहरु भोलिका देशका कर्णधार भएको बताउनुभयो । उहाँले बालबालिकाहरुलाई भविष्यको लक्ष्य निर्धारण गरेर मेहनतका साथ अध्ययन गर्न आग्रहसमेत गर्नुभयो ।
सो अवसरमा सामाजिक विकास मन्त्रालयले आश्रमका बालबालिकाहरुलाई फलफूल वितरण गरेको थियो ।