मोेरङ सुन्दरहरैचाको सिद्धार्थ स्कुलमा वार्षिकोत्सव तथा अभिभावक दिवस

विराटनगर २९ फागुन । सुन्दरहरैचा–१० खोर्सानेस्थित सिद्धार्थ सेकेण्डरी स्कुलले आफ्नो ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन सुरु गरेको छ ।

आजदेखि स्कुल प्राङ्गमा तीन दिने कार्यक्रम गरी वार्षिकोत्सव मनाउन सुरु गरिएको हो ।

कार्यक्रमको पहिलो दिन प्ले–ग्रुपदेखि युकेजीसम्मका विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरे । साना विद्यार्थीहरूले गीत, नृत्य तथा विभिन्न सिर्जनात्मक प्रस्तुतिमार्फत दिनभर अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।

स्कुलका अध्यक्ष निलम ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा स्कुलका प्रिन्सिपल अर्जुन बस्नेतले आफ्नो विद्यालयलाई गुणस्तरीय शिक्षाको क्षेत्रमा प्रदेशकै उत्कृष्ट बनाउने लक्ष्यका साथ अघि बढेको बताए । उनले विद्यार्थीहरूको सर्वाङ्गिण विकासका लागि संस्कार र प्रविधिलाई विद्यालयले प्राथमिकतामा राखेको उल्लेख गर्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगरिने प्रतिबद्धता जनाए ।

शनिबार कक्षा १ देखि कक्षा ५ सम्म र अन्तिमदिन आइतबार कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

सोही अवरमा स्कुलका पूर्व विद्यार्थी राकेश श्रेष्ठले ३ लाखको अक्षयकोष स्थापना गरि ४ जना विद्यार्थीलाई जनही नगद ४ हजार र प्रमाणपत्र वितरण गरे । ्

पुरस्कार पाउँनेमा हरेक क्रियाकलापमा उत्कृष्ट हुने कक्षा १० का अभिज्ञा आचार्य र आरुष पौडेल तथा कक्षा १२ का साहिल राई र रियाना बस्नेत रहेका छन् । उनीहरुलाई स्कुलका प्रिन्सिपल अर्जुन बस्नेत र राकेशका बुबा गोविन्द श्रेष्ठले वितरण गरे ।