मोरङमा रास्वपालाई ५३ प्रतिशत मत

विराटनगर २६ फागुन । प्रत्यक्ष तर्फ मोरङमा क्लिन स्वीप गरेको राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) ले समानुपातिकमा पनि भारी मत प्राप्त गरेको छ ।

मोरङमा समानुपातिकतर्फ ५ लाख ५ हजार ६८ मत खसेको थियो । त्योमध्ये २८ हजार ४९९ मत बदर भएको छ । सदर भएको ४ लाख ७६ हजार ५६९ मतमा धेरै ल्याएर रास्वपा पहिलो बनेको हो । रास्वपाले जिल्लाभरि २ लाख ५४ हजार २१ मत प्राप्त गरेको छ । सदर मतको ५३.३० प्रतिशत रास्वपाले पाएको छ ।

निर्वाचन आयोगका अनुसार ४६.७० प्रतिशत मत अरु दललाई गएको छ । मोरङमा समानुपातिकतर्फ ६६ हजार ९०७ मत ल्याएर कांग्रेस दोस्रो भएको छ । तेस्रो स्थानमा रहेको एमालेले ४९ हजार १३२ मत मात्रै ल्याएको छ ।

चौथो स्थानमा रहेको श्रम संस्कृति पार्टीले ४४ हजार २०१ र पाँचौं स्थानमा रहेको नेकपाले १९ हजार ९९६ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १२ हजार ४३२, जनता समाजवादी पार्टी (जसपा) नेपालले ७ हजार ५१४ र राष्ट्रिय उर्जाशील पार्टी नेपालले २ हजार ६५४ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

निर्वाचनको नतिजाले मोरङमा नयाँ राजनीतिक शक्तिको उदय भएको देखाउँछ । विशेष गरी युवा र वैकल्पिक राजनीति खोज्ने मतदाताको समर्थन रास्वपाले पाएको विश्लेषकहरु बताउँछन् ।

क्षेत्र नम्बर १ मा रास्वपाले २९ हजार २९८ मत प्राप्त गरेको छ । १७ हजार ५७० मतसहित श्रम संस्कृति पार्टी दोस्रो स्थानमा छ । एमालेले ९ हजार ६९२, कांग्रेसले ९ हजार ११८, नेकपाले २ हजार २७ र राप्रपाले १ हजार ६६५ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर २ मा रास्वपा ४३ हजार ५०७ मतसहिते पहलो छ । एमालेले १२ हजार ४०३, कांग्रेसले ११ हजार ६३१, श्रम संस्कृति पार्टीले २ हजार ४४०, राप्रपाले १ हजार ६४३ र नेकपाले १ हजार ५६३ मत ल्याएका छन् ।

क्षेत्र नम्बर ३ मा रास्वपाले ४३ हजार ५०७ मत प्राप्त गरेको छ । एमालेले १२ हजार ४०३, कांग्रेसले ११ हजार ६३१, श्रम संस्कृतिले २ हजार ४४०, राप्रपाले १ हजार ६४३ र नेकपाले १ हजार ५६३ मत पाएका छन् ।

क्षेत्र नम्बर ४ मा रास्वपा ४६ हजार १५७ मतसहित पहिलो बनेको छ । कांग्रेसले १० हजार ३४०, नेकपाले ६ हजार ५४५, एमालेले ६ हजार ३१४, राप्रपाले २ हजार ४१३ र श्रम संस्कृतिले १ हजार ४३० मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर ५ मा रास्वपाले ३७ हजार ९४७ मत प्राप्त गरेको छ । कांग्रेसले ८ हजार ७९२, जसपाले ६ हजार ५१५, नेकपाले ६ हजार २२८, एमालेले ५ हजार ९३२ र राष्ट्रिय उर्जाशील पार्टीले २ हजार ३७४ मत पाएका छन् ।

क्षेत्र नम्बर ६ मा रास्वपाले सबैभन्दा धेरै ५४ हजार ५०० मत प्राप्त गरेको छ । कांग्रेसलाई ११ हजार ९६४, एमालेलाई ७ हजार २४, श्रम संस्कृति पार्टीलाई ३ हजार ७५४, राप्रपालाई ३ हजार ६३६ र नेकपालाई १ हजार ९३० मत प्राप्त भएको छ ।

प्रत्यक्षतर्फ पनि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका थिए । क्षेत्र नम्बर १ मा यज्ञमणि न्यौपाने, २ मा कृष्णकुमार कार्की, ३ मा गणेश कार्की, ४ मा सन्तोष राजवंशी, ५ मा आशा झा र ६ मा रुबिना आचार्य निर्वाचित भएका हुन् ।