मोरङमा मत बदर प्रतिशत बढ्दो

विराटनगर २५ फागुन । पछिल्ला ४ वटा निर्वाचनमा मोरङको मत बदरको प्रतिशत बढ्दो क्रममा रहेको छ ।

२०७० को दोश्रो संविधानसभा निर्वाचन, २०७४, ०७९ र २०८२ को प्रतिनिधिसभा निर्वाचनमा मोरङको बदर मतको संख्या बढ्दो क्रममा रहेको छ ।

दोश्रो संविधानसभामा मोरङमा ६ दशलमव २ प्रतिशत मत बदर भएको थियो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ५ दशमलव ३, २०७९ को निर्वाचनमा ५ दशमलव ९५ र ०८२ को निर्वाचनमा ७ दशमलव १८ प्रतिशत मत बदर भएको छ ।

गत विहिबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फ मोरङमा ५ लाख २ हजार ६६४ मत खसेको थियो । यो मोरङका कुल मतदाताको ६४ दशमलव १९ प्रतिशत हो । मोरङमा ७ लाख ८३ हजार ०५० मतदाता थिए ।

मोरङमा कुल खसेको मतको ७ दशमलव १८ प्रतिशत मत बदर भएको छ । ३६ हजार १०९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरुले सार्वजनिक गरेको अन्तिम मतपरिणाममा उल्लेख छ ।

मोरङ १ मा कुल खसेको ७६ हजार ३७९ मत मध्ये ४ हजार ४१७ बदर भएको छ । मोरङ २ मा ८० हजार ६५९ मत मध्ये ६ हजार ५६, ३ मा ९६ हजार २८३ मत मध्ये ६ हजार ८२७, ४ मा ७९ हजार ७७५ मध्ये ५ हजार २५६, ५ मा ७८ हजार ४४९ मध्ये ७ हजार ८८९ र ६ मा ९१ ह्जार ११९ मत मध्ये ५ हजार ६६४ मत बदर भएको छ ।

निर्वाचन आयोगले मतदाता शिक्षा हरेक निर्वाचनमा गरेपनि त्यसको प्रभाव कम देखिने गरेको छ । निर्वाचन पर्यवेक्षण गर्दै आएको इन्सेकका कोशी प्रदेश प्रलेख अधिकृत पुन्य अधिकारीले मत बदर बढ्नु राम्रो नभएको बताउनुभयो । उहाँले मतदाता शिक्षा प्रभावकारी नहुनु र राजनीतिक दलहरुले पनि मतदाता शिक्षामा ध्यान नदिँदा बदर मतको संख्या घट्नुको सट्टा बढेको देखिएको बताउनुभयो ।

निर्वाचन आयोगले यस पटक पनि हरेक वडामा मतदाता शिक्षा कार्यक्रम तथा विभिन्न स्थानमा नमूना मतदान समेत गराएको थियो ।