विराटनगरमा मोर्डन एराका विद्यार्थीद्वारा ‘बाटो बिराएको बादल’ नाटक मञ्चन

विराटनगर १३ फागुन । विराटनगरस्थित मोर्डन एरा स्कुलका विद्यार्थीहरूले ‘बाटो बिराएको बादल’ नामक नाटक मञ्चन गरेका छन् । विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्र दिवस न्यौपानेले निर्देशन गरेको उक्त नाटक बुधबार विराटनगरस्थित आरोहण गुरुकुलमा मञ्चन गरिएको हो ।

बुधबार दिउँसो १२ बजे पहिलो शो प्रदर्शन गरिएको थियो । विद्यालयका प्रिन्सिपल इन्द्रकुमार राईका अनुसार नाटकका दुईवटा शोहरू सञ्चालन गरिएका छन् ।

रचना सापकोटाले लेखन गरेको यस नाटकको व्यवस्थापन साइमन कार्कीले गरेका हुन् । नाटकमा कक्षा ९ का १४ जना विद्यार्थीहरूले अभिनय गरेका छन् ।

नाटक हेर्न आएका प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले विद्यार्थीहरूको अभिनय मर्मस्पर्शी र मनछुने रहेको बताए ।

नाटकमा अभिभावकको बेवास्ताका कारण विद्यालय उमेरकी छोरीले भोग्नुपर्ने समस्या र हुनसक्ने दुर्घटनालाई कथाको रूपमा प्रस्तुत गरिएको छ ।

अभिभावकीय जिम्मेवारीको अभाव र प्रशासनको उदासीनताले एउटा निर्दोष छात्राको भविष्य कसरी अन्धकारतर्फ धकेलिन्छ भन्ने विषय नाटकको मुख्य केन्द्रविन्दु रहेको छ ।

प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकीले विद्यार्थीहरूले समसामयिक र गहन विषयवस्तुलाई नाटक मार्फत उठान गरेकोमा प्रशंसा गरे ।

मोर्डन एरा स्कुलका प्रिन्सिपल इन्द्र राईले विद्यालयले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा समेत सक्रिय बनाउँदै आएको जानकारी दिए ।