मोरङमा ५० उम्मेदवारले मात्रै खोले बैंक खाता, ६० जनाको बाँकी

विराटनगर ९ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ मोरङमा ११० जना उम्मेदवार छन् । निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्ने उम्मेदवारको संख्या ५० पुगेको छ । अझै ६० जना उम्मेदवारले खाता खोल्न बाँकी रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

बैंक खाता खोल्नका लागि प्रदेश निर्वाचन कार्यालयबाट ८५ जनाले सिफारिस लिईसकेका छन् । शनिबार सम्म बैंक खाता खोल्ने उम्मेदवारको संख्या ५० रहेको मोरङका प्रमुख कोष नियन्त्रक तोमनाथ उप्रेतीले जानकारी दिनुभयो । आईतबार सम्म सिफारिस लिनेको संख्या एक सय पुग्ने उहाँले बताउनुभयो ।

उम्मेदवारको आर्थिक कारोबारको अनुगमनका लागि कोष नियन्त्रकलाई जिम्मेवारी दिईएको छ । उप्रेतीले बैंक खाता नखोली निर्वाचन खर्च गर्न नपाईने भन्दै खाता खोल्न बाँकी उम्मेदवारहरुलाई फोन गरेर पनि जानकारी गराईएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ सोमबार सम्म खाता खोल्न बाँकी उम्मेदवारलाई बैंक खाता सञ्चालनमा ल्याईसक्न भनिएको छ ।’

स्वतन्त्र लगायतका केही राजनीतिक दलका उम्मेदवारहरुले निर्वाचनमा खर्च नगरिने भन्दै बैंक खाता नखोल्ने बताएको प्रमुख कोष नियन्त्रक तोमनाथ उप्रेतीले जानकारी दिनुभयो ।
निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरुले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्चको सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि प्रतिनिधि सभा बैंक खाता खोल्न भनिएको छ ।

निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा छुट्टै खाता खोल्नुपर्ने व्यवस्था छ । निवाचनसँग सम्बन्धित कारोबार गर्दा सोही खातामार्फत गर्नुपर्ने प्रावधान छ ।

उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधिसभा सदस्य ऐनबमोजिम निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था छ ।