कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु हामी सबैको जिम्मवारी रहेको बताउनुभएको छ । उहाँले निर्वाचनलाई सहज रुपमा सम्पन्न आचार संहिताको पालना गर्न सबै राजनीतिक दल एवं उम्मेदवारलाई आग्रह गर्नुभयो ।
विराटनगर ८ फागुन । निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा आज विराटनगरमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले मुलुकलाई राजनीतिक निकास दिन एवं संविधानको सफल कार्यान्पयनमा निर्वाचनले अहम भूमिका निर्वाह गर्ने विचार राख्नुभयो । प्रमुख आयुक्त भण्डारीले निर्वाचन आचार संहिताका उल्लंघनको थलोमा कारवाही गर्न अनुगमनकर्ताहरुलाई आग्रह गर्नुभयो ।
निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा भारतीय नम्वरको सवारी साधन प्रयोग गर्न निषेध गरिएको यस प्रति सचेत हुने दल एवं उम्मेदवारलाई अनुरोध गर्नुभयो । उहाँले यस पल्टको निर्वाचन खर्च मितव्ययी हुने अनुमान व्यक्त गर्दै आयोग, सुरक्षा निकाय, दल र उम्मेदवार लगायतले रु एक खर्व खर्च हुने अनुमान व्यक्त गर्नु भयो । आयुक्त भण्डारीले आयोगले उम्मेदवारले गाउँघरमागर्ने वनभोज कार्यक्रमको खर्च जोडिने भएकोले यसप्रति सचेत हुनुपर्नेमा जोड दिनु भयो ।
कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रप्रसाद पौडेलले निर्वाचन आचारसंहिता पालनमा सबै दल एवं उम्मेदवारले सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा कानुन समाजका प्रशासकीय निर्देशक गणेशमान प्रधान, प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालले निर्वाचनलाई स्वच्छ,भयरहित निश्पक्षरुपमा सम्पन्न गर्न आचारसंहिताको पालना आवश्यक भएको विचार राख्नुभयो ।
कार्यक्रममा पूर्व कानुन सचिव फणिन्द गौतमले निर्वाचन आचार संहिताको प्रमख विषयहरुः सरोकारवालाहरुको भूमिका र आयोगका सह सचिव यज्ञप्रसाद भट्टराईले प्रतिनिधि सभा सदस्यको निर्वाचनको खर्च र प्रचार–प्रसार विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।