विराटनगर ९ फागुन । मोरङ क्षेत्र नम्वर १ का एमाले उम्मेदवार घनश्याम खतिवडाले चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गर्नु भएको छ । नेकपा एमाले निर्वाचन परिचालन कमिटीको कार्यालय उर्लाबारीमा आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले चुनावी प्रतिवद्धता सार्वजनिक गर्नुभएको हो ।
सार्वजनिक गरिएको प्रतिबद्धता–पत्रमा तमोर चिसाङ डाइभर्सन परियोजनालाई राष्ट्रिय गौरवको योजनाका रूपमा सम्पन्न गर्ने, क्षेत्र नं. १ का सिंचाइ कुलो, पैनी र नहरको निर्माण तथा स्तरोन्नति गर्ने उल्लेख गरिएको छ ।
कृषि आधुनिकिकरण, पकेट क्षेत्र निर्धारण, कृषि जोन र सुपर जोन निर्माणलाई अघि बढाउने योजना पनि प्रस्तुत गरिएको छ । सबै पालिका स्तरमा पर्यटन विकास गुरुयोजना तयार गरी प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै पर्यटन विकास गर्ने प्रतिबद्धता जनाइएको छ ।
स्थानीय कच्चा पदार्थमा आधारित साना, घरेलु तथा ठूला उद्योग सञ्चालनमा प्रोत्साहन गर्ने तथा सामुदायिक विद्यालयहरूको भौतिक र शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकारसँग समन्वय गर्ने उल्लेख गरिएको छ । घोषणापत्रमा प्रादेशिक अस्पताल मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेलाई प्रदेशकै नमुना अस्पतालमा स्तरोन्नति गर्ने, युवाले सञ्चालन गरेका नवप्रवर्तन, उद्योग र व्यवसायलाई सहुलियत तथा सहुलियत कर्जा कार्यक्रममार्फत प्रोत्साहन गर्ने योजना पनि समेटिएको छ ।
महिला उद्यमशीलता प्रवद्र्धन, बालमैत्री शिक्षा र बालपोषणमा विशेष ध्यान दिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
निर्माणाधीन तथा प्रस्तावित सडक योजनाहरू सम्पन्न गरी स्तरोन्नति गर्ने, सार्वजनिक जवाफदेहिता, पारदर्शिता, सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइ जस्ता सुशासनका औजार पूर्ण रूपमा कार्यान्वयन गर्ने तथा संघीय संसदमा दर्ता भएका शिक्षा विधेयकसहित जनहितका कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने खतिवडाले प्रतिवद्धता जनाउनु भएको छ ।