विराटनगरमा नमुना मतदान र निर्वाचन सुरक्षा अभ्यास

विराटनगर ८ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र व्यवस्थित बनाउने उद्देश्यले मोरङको विराटनगरमा नमुना मतदान तथा निर्वाचन सुरक्षा अभ्यास गरिएको छ ।

शुक्रबार मोरङ क्षेत्र नम्बर ५ अन्तर्गत विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरमा निर्वाचन अभ्यास गरिएको हो ।

निर्वाचनका बेला मतदातालाई कसरी सुरक्षित रूपमा मतदान गराउने, सम्भावित जोखिमलाई कसरी टार्ने र मतदान सम्पन्न भएपछि मतपेटिकालाई सुरक्षित रूपमा मतगणनास्थलसम्म कसरी पुर्याउने भन्ने विषयलाई अभ्यासमा प्रस्तुत गरिएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तिर्थ अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुार नमुना अभ्यासमा देखाइएअनुसार मतदानका क्रममा कुनै समूहले होहल्ला गरे वा मतदान प्रक्रियामा अवरोध र्पुयाउन खोजेमा पहिलो घेरामा रहेको नेपाल प्रहरीले अवरोध हटाएर स्थिति नियन्त्रणमा लिने प्रयास गर्नेछ ।

कुनै अवरोधका कारण रोकिएको मतदान प्रक्रिया सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिएर सामान्य बनाएपछि पुनः सुचारु हुने व्यवस्था मिलाइएको छ । निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सुरक्षा व्यवस्थामा कुनै सम्झौता नगरिने सन्देश यस नमुना अभ्यासले दिएको अधिकारीले बताउनुभयो ।