विराटनगर ८ फागुन । नेकपा (एमाले)का नेता लालबाबु पण्डितले आफ्नो कार्यकालमा सुरु भएका विकास आयोजनामाथि विपक्षीले भ्रम फैलाएको आरोप लगाउनु भएको छ ।
मोरङको बूढीगंगा गाउँपालिकाको कोयलपुरमा आज पत्रकार सम्मेनल गर्दै पण्डितले एमालेले अघि बढाएका बहुवर्षीय योजनालाई कांग्रेसले तोडमोड गरी प्रस्तुत गरेको दाबी गर्नुभयो । मोरङ क्षेत्र नं. ६ का पूर्व सांसद समेत रहनु भएका नेता पण्डितले विशेषगरी कोयलपुर–रानी सडक खण्डजस्तो बहुचर्चित गौरवको आयोजनालाई उदाहरण दिँदै सो योजना आफ्नै कार्यकालमा सुरु गरिएको र शिलान्यासदेखि प्रारम्भिक कार्यान्वयनसम्म महत्वपूर्ण काम सम्पन्न भएको बताउनुभयो ।
पण्डितले कुनै पनि दीर्घकालीन योजना रातारात तयार नहुने स्पष्ट पार्दै गुरुयोजना निर्माणमै ९ महिना लागेको स्मरण गराउनुभयो । ‘झुटो कुरा झुट्टै हुन्छ, चाहे त्यो ठूलाले बोलून् या सानाले,’ भन्दै उनले शिलान्यास स्तम्भ नै प्रमाणका रूपमा उभिएको दाबी गर्नुभयो । आफू जनप्रतिनिधि नरहेपछि ती योजनाहरूले निरन्तरतामा पाउन नसकेको बताउँदै पण्डितले विकासको जस लिन खोज्नेहरूमाथि प्रतिवाद गर्नुभयोे । मोरङ–६ बाट २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि आफूले विकासका धेरै काम गरहेको उहाँको भनाइ छ । २०७४ सालमा उनले कांग्रेसका डा. कोइरालालाई पराजित गर्नुभएको थियो ।
२०७९ सालको निर्वाचनमा भने पण्डित कोइरालासँगै पराजित हुनु भएको थियो । २०७९ सालको निर्वाचनपछि आफू प्रत्यक्ष भूमिकामा नरहे पनि आफ्नो कार्यकालमा अघि बढाइएका योजनाहरूको अभिलेख सुरक्षित रहेको पण्डितले बताउनुभयो । पण्डितले वर्तमान राजनीतिक प्रतिस्पर्धालाई ‘विकास गर्ने र नगर्ने शक्तिबीचको लडाइँ’को संज्ञा दिनुभयो । उहाँले विकासको एजेन्डालाई नै मुख्य मुद्दा बनाउनुपर्नेमा जोड दिँदै एमालेले गरेका कामलाई तथ्यसहित जनतामाझ लैजाने बताउनुभयो । नयाँ राजनीतिक शक्तिहरूप्रति समेत उहाँ आक्रामक देखिनु भएको थियो ।
सामाजिक सञ्जालमा मात्रै सक्रिय रहने प्रवृत्तिलाई लक्षित गर्दै उनले त्यस्ता समूहलाई ‘फेसबुके पार्टी’को संज्ञा दिनुभयो । मोरङ क्षेत्र नम्बर ६ का एमाले उम्मेदवार विनोद ढकाल बुवाको निधनपछि कोरामा बस्नु भएको छ । ढकालको अनुपस्थितिमा चुनावी अभियानको नेतृत्व पण्डितले सम्हालिरहनु भएको छ । उहाँले अभियानलाई विकासको निरन्तरतासँग जोड्दै मतदातासमक्ष तथ्य र कामका आधारमा समर्थन माग्ने रणनीति अघि सार्नुभएको छ । पछिल्लो समय राजनीतिक बहससँगै मोरङ क्षेत्र नम्बर ६ मा विकासको दाबी र आरोप प्रत्यारोपले चुनावी माहोल तातेको छ ।
एमालेले आफ्नो कार्यकालका उपलब्धि प्रस्तुत गरिरहेको छ । त्यति मात्रै हैन, आफ्नो कार्यकालमा भएका काममा कांग्रेसले जस लिन खोजेको आरोप एमालेको छ । पण्डितले आफ्नो कार्यकालको कामलाई देखाएर डा. शेखर कोइरालाले भोट माग्दै अनेक भ्रम फैलाउन खोजेको उल्लेख गर्नुभएको छ ।
आगामी फागुन २१ गतेको निर्वाचनका लागि मोरङ–६ बाट एमालेका ढकाल, कांग्रेसका डा. कोइराला, रास्वपाकी रुविना आचार्य, नेकपाका ओपेन्द्र रायलगायत १७ जना उम्मेदवार छन् ।