विराटनगरको मदरल्याण्डमा जनमतबाट चित्रकलाका विजेता घोषणा

विराटनगर ८ फागुन । फागुन ७ गते अर्थात, ७६ औँ प्रजातन्त्र दिवसको अवसर पारेर विराटनगर महानगरपालिका–४ स्थित मदरल्याण्ड एकेडेमी स्कुलले बिहीबार आयोजना गरेको ‘मदरल्याण्ड चित्रकला प्रतियोगिता’ का विजेता चयनका लागि मतदान गरिएको छ ।

यसले विद्यालय तहमा लोकतान्त्रिक अभ्यास, अभिभावक र विद्यार्थीबीचको अन्तरक्रिया र कला क्षेत्रको व्यावसायिक सम्भावनालाई एउटै मञ्चमा उभ्याउने प्रयासका रूपमा आफूलाई स्थापित गरेको छ । विद्यालय प्रशासनले यसलाई ‘नौलो अभ्यास’का रूपमा व्याख्या गरेको छ ।

विद्यालयका प्रिन्सिपल मोहन बुढाथोकीका अनुसार कार्यक्रमको मूल उद्देश्य प्रतियोगिता गराउनु मात्रै नभएर विद्यार्थीलाई सामाजिकीकरण गर्नु, उनीहरूमा नेतृत्व विकास गराउनु, अभिभावकसँग घुलमिल गराउनु तथा संवाद र संस्कारको विकास गर्नु हो । ‘विद्यालय शिक्षाको दायरा कक्षाकोठाभित्र सीमित हुनु हुँदैन । विद्यार्थीलाई सामाजिक उत्तरदायित्व, सहभागिता र संवादको संस्कार पनि सिकाउनुपर्छ । यही सोचका साथ चित्रकला प्रतियोगितालाई मतदान प्रक्रियासँग जोडिएको हो । जसले विद्यार्थीलाई चुनाव, मतदाता र लोकतान्त्रिक प्रक्रियाका बारेमा व्यावहारिक जानकारी दिन सघाएको छ,’ बुढाथोकीले भन्नुभयोे ।

उहाँका अनुसार कक्षा १ देखि कक्षा १० सम्म अध्ययनरत ६६ जना विद्यार्थी प्रतिस्पर्धामा थिए । आन्तरिक प्रतियोगिताबाट छनोट गरिएका विद्यार्थीका चित्रहरूलाई सार्वजनिक रूपमा प्रदर्शनीमा राखेर अभिभावकलाई मतदान गर्न लगाइएको थियो । चित्र मन पराउने अभिभावकले उक्त चित्र बनाउने सम्बन्धित विद्यार्थीलाई मत दिएका थिए ।

कुल ३ हजार ६ सय ८३ मत खसेकोमा १७ मत बदर भएको विद्यालयले जनाएको छ । बदर मतको कारण भने सीमाभन्दा बाहिर चिन्ह लगाउनु वा एक जनाले तोकिएको भन्दा बढी व्यक्तिलाई मतदान गर्नु रहेको थियो । यस कार्यक्रममा एक मतदाताले बढीमा चार जनासम्मलाई मत दिन पाउने व्यवस्था गरिएको थियो ।

प्रतिस्पर्धाको नतिजाअनुसार कक्षा ७ मा अध्ययनरत रिदम गौतम २ सय ३५ मत प्राप्त गर्दै प्रथम भएका छन् । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । कक्षा ६ की कृतिमा बुढाथोकी १ सय ६७ मतसहित द्वितीय भइन् । उनले ६ हजार रुपैयाँ पुरस्कार पाइन् ।

कक्षा ३ की गरिमा पाण्डे १ सय ५६ मतका साथ तृतीय भइन् । उनले ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । कक्षा ७ का संकल्प चौधरी १ सय ५४ मतसहित सान्त्वना स्थानमा रहेर २ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

विजेता विद्यार्थीहरुलाई कार्यक्रम संयोजक मुस्कान थापा, चित्रकला प्रशिक्षक विशाल साह, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गीता गौतमलगायत शिक्षकहरूले पुरस्कार वितरण गरेका थिए । प्रजातन्त्र दिवसको ऐतिहासिक महत्वबारे पनि जानकारी दिन र सहिदहरुप्रति सम्मान प्रकट गर्न चित्रकलाका विजेता छनोट गर्न लोकतान्त्रिक प्रक्रिया अपनाइएको प्रिन्सिपल बुढाथोकीले बताउनुभयो ।