विराटनगर ७ फागुन । सन् २०२५ मा नेपालमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ । भदौ २३–२४ को घटनाका कारण मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना बढेको प्रतिवेदनमा उल्लेख छ ।
जेन–जी आन्दोलनमा राज्यपक्षबाट भएको दमनका कारण पनि यस वर्ष मानवअधिकार उलंघनको घटना धेरै भएको बताइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बिहीबार ललितपुरमा नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै सन् २०२५ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ११ हजार ५ सय ३८ जना पीडित भएको जनाएको हो ।
यसअघि सन् २०२४ मा यस्ता घटनामा १० हजार ७ सय ३४ जना पीडित भएको तथ्याङ्क सार्वजनिक भएको थियो । तथ्याङ्क अनुसार बागमती प्रदेशमा सवैभन्दा बढी र कर्णाली प्रदेशमा सबैभन्दा कम घटना भएका छन् ।
सन् २०२५ मा राज्यपक्षबाट २ हजार ७ सय ५ जना पीडित भएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा निकै बढी हो, अघिल्लो वर्ष राज्य पक्षबाट ४ सय ५८ जना पीडित भएको थियो । त्यस्तै अन्य पक्षबाट भएका मानवअधिकार ज्यादतीका घटनाको संख्या ८ हजार ८ सय ३३ रहेको छ ।
इन्सेकका पूर्वअध्यक्ष डा. कुन्दन अर्यालले नेपालमा मानवअधिकारको अवस्था सुध्रिँदै जानुपर्नेमा अहिलेका अवस्थाले स्तब्ध भएको बताउनुभयो । इन्सेकले सन् १९९२ देखि हरेक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै आएको छ ।