मोरङ ६ मा एमालेका २२ वटा निर्वाचन परिचालन कमिटीहरु सक्रिय

विराटनगर ६ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नं. ६ मा एमालेले २२ वटा निर्वाचन परिचालन कमिटीका कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

निर्वाचन परिचालन कमिटीका कार्यालयले विहान देखि साँझ सम्म प्रतिनिधिसभा उम्मेदवार विनोद ढकालका चुनाव् प्रतिबद्धता सहितको घरदैलो, प्रचारप्रसार, मतदाता भेटघाटका कार्यक्रमहरु सञ्चालन भईरहेको एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष बलराम गिरीले बताउनुभयो । उहाँका अनुसार बुढीगंगामा क्षेत्रीय निर्वाचन परिचालन कमिटीको कार्यालय, सुन्दरहरैचामा पालिकास्तरिय निर्वाचन परिचालन कमिटीको कार्यालय, विराटनगर महानगर अन्तरगतका ७ वटै वडा, सुन्दरहैचाका ६ वटै वडा र बुढीगंगाका ७ वटै वडामा निर्वाचन परिचालन कमिटीको कार्यालय सञ्चालनमा ल्याईएको छ ।

मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा एमालेले विनोद ढकाललाई उम्मेदवार बनाएको छ । ढकालका बुवा १०२ वर्षीय विष्णुप्रसाद ढकालको गत बिहीबार निधन भएपछि उनी यतिबेला उहाँ पितृ शोकमा रहनु भएको छ । उहाँ शोकमा रहेकाले स्थानीय पार्टी कमिटीले वडास्तरमा र क्षेत्रीय स्तरका कार्यक्रमहरुमा निर्वाचन कमाण्डर पूर्व सांसद लालबाबु पण्डितको नेतृत्वमा चुनावी गतिविधिहरु अघि बढाईएको छ ।

विराटनगर महानगरपालिका–५ मा आज विहान परिचालनक कमिटीको कार्यालय सञ्चालन गरि चुनावी गतिविधि तीव्र पारिएको छ ।

चुनावी अभियानलाई व्यवस्थित, प्रभावकारी र केन्द्रित बनाउन पार्टीले विराटनगर महानगरपालिका–५ को जानकी चोकमा निर्वाचन परिचालन समितिको कार्यालय स्थापना गरी औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।
बुधबार बिहान आयोजित कार्यक्रममा एमालेका पूर्वकेन्द्रीय उपाध्यक्ष गुरु बरालले कार्यालयको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यालय उद्घाटनसँगै पार्टीले चुनावी अभियानलाई थप आक्रामक र योजनाबद्ध रूपमा अघि बढाएको एमाले विराटनगर–५ का वडाध्यक्ष राजेश गिरीले बताउनुभयो ।

गिरीले निर्वाचनलाई लक्षित गर्दै स्थायी सम्पर्क बिन्दुको आवश्यकता महसुस भएकाले कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनको समयमा उम्मेदवार, कार्यकर्ता र मतदाताबीचको समन्वयलाई सहज बनाउने उद्देश्यले यो कार्यालय खोलिएको हो ।

एमालेको प्रचार अभियानमा केन्द्रीय तहका नेताहरू पनि सक्रिय रूपमा खटिएको गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार गुरु बराल, पूर्वस्थायी कमिटी सदस्य लालबाबु पण्डित र केन्द्रीय सदस्य पर्शुराम बस्नेतलगायतका नेताहरू चुनावी गतिविधिमा प्रत्यक्ष संलग्न छन् । उनीहरूको उपस्थितिले कार्यकर्तामा उत्साह थपिएको स्थानीय नेताहरूको भनाइ छ ।

बुधबार मात्रै विराटनगर–५ का विभिन्न टोल तथा चोकहरूमा व्यापक घरदैलो अभियान सञ्चालन गरिएको एमालेले जनाएको छ । मुनालपथ, जानकी चोक, त्रिमूर्ति चोक, चाँदनी चोक, बरगाछी, पृथ्वी चोक, प्रतिमा मार्गलगायतका क्षेत्रमा नेता कार्यकर्ता मतदाताको घरदैलोमा पुगेका थिए ।

घरदैलोका क्रममा मतदातासँग प्रत्यक्ष संवाद, स्थानीय समस्याको सुनुवाइ तथा पार्टीका भावी योजना प्रस्तुत गरिएको बताइएको छ । निरन्तरता पाउने अभियानलाई आगामी दिनमा थप विस्तार गरिने अध्यक्ष गिरीले बताउनुभयो ।