विराटनगर ३ फागुन। शिक्षा क्षेत्रमा लामो अनुभव सँगालेका विराटनगरका प्रतिष्ठित शिक्षक तथा शिक्षासेवीहरूको सामूहिक लगानीमा आगामी नयाँ शैक्षिक सत्रदेखि ‘मार्टर्स मेमोरियल प्लस टु’ सञ्चालनमा आउने भएको छ ।
विराटनगरलाई शैक्षिक ‘हब’ का रूपमा विकास गर्ने उद्देश्यका साथ करिब ७ करोड रुपैयाँको लगानीमा यस परियोजनाको तयारी अघि बढाइएको हो ।
मार्टर्स मेमोरियल फाउण्डेसनले विराटनगर–१०, निलसदन दक्षिणस्थित साढे ५ कट्ठा जग्गामा निर्माण गर्न लागेको चारतले अत्याधुनिक शैक्षिक भवनको शनिबार एक समारोहका बीच शिलान्यास गरिएको छ ।
आगामी तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त भवन पूर्ण रूपमा वातानुकूलित (एसी), स्मार्ट कक्षाकोठा र आधुनिक प्रयोगशालासहितको हुने फाउण्डेसनका प्रिन्सिपल सी.एम.श्रेष्ठले जानकारी दिनुभयाे।
प्रिन्सिपल श्रेष्ठका अनुसार विराटनगरको गर्मीलाई मध्यनजर गर्दै विद्यार्थीको सहजताका लागि सबै कक्षाकोठामा ‘फुल एसी’ जडान गरिनेछ । ‘हामी सुविधासम्पन्न भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षण पद्धतिबाट फरक पहिचान स्थापित गर्ने तयारीमा छौं,’ उहाँले भन्नुभयाे, ‘विद्यार्थी, अभिभावक र शुभेच्छुकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले हामीलाई थप उत्साहित बनाएको छ ।’
आउँदो शैक्षिक सत्रदेखि विज्ञान, कम्प्युटर साइन्स, व्यवस्थापन र होटल व्यवस्थापन संकायमा पठनपाठन सुरु गर्ने योजना रहेको यस संस्थाले पहिलो वर्षमै १ हजारदेखि १ हजार २ सय विद्यार्थी अटाउने क्षमताको पूर्वाधार निर्माण गरिरहेको छ ।
दीर्घकालीन रूपमा स्नातक तथा स्नातकोत्तर तहसमेत सञ्चालन गर्ने लक्ष्य संस्थाले लिएको छ ।
यस प्लस टु सञ्चालनका लागि विराटनगरका १० भन्दा बढी प्रतिष्ठित संस्थागत विद्यालयका प्रिन्सिपलसहित २९ जना शिक्षाकर्मीको सामूहिक लगानी रहेको छ । यस सहकार्यले स्थानीय शैक्षिक क्षेत्रमा नयाँ मोडेल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
भवन शिलान्यास कार्यक्रममा बोल्दै प्याब्सन मोरङकी पूर्वअध्यक्ष सावित्री पराजुलीले सुविधासम्पन्न संरचनासहित नयाँ शैक्षिक संस्था सञ्चालन हुनु विराटनगरका लागि गौरवको विषय भएको बताउनुभयाे । उहाँले सक्षम नेतृत्व र अनुभवी टिमका कारण यो संस्था कोशी प्रदेशकै उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गरिन् ।
त्यस्तै, प्याब्सन मोरङका अर्का पूर्वअध्यक्ष विनोदबाबु भट्टराईले विराटनगर अब उच्च शिक्षाका लागि बाहिरी सहर वा विदेश धाउनुपर्ने बाध्यता अन्त्य हुँदै गएको उल्लेख गर्नु भयाे। उहाले गुणस्तरीय पूर्वाधार र दक्ष जनशक्तिमार्फत सञ्चालन हुने यस्ता संस्थाले समग्र शैक्षिक वातावरणलाई प्रतिस्पर्धी र सुदृढ बनाउने धारणा राखे ।
निजी क्षेत्रको बढ्दो लगानी, आधुनिक पूर्वाधार र विविध संकायको विस्तारसँगै विराटनगर क्षेत्रीय शैक्षिक गन्तव्यका रूपमा विकास भइरहेको यो परियोजनाले पुनः पुष्टि गरेको छ ।