विराटनगर १ फागुन । विराटनगरको मिल्स माध्यमिक विद्यालयले विद्यालय स्थापनाको ७५ औं बार्षिकोत्सव मनाउने भएको छ । फागुन २ देखि ८ गते सम्म विराटनगर १६ मिल्स एरियामा रहेको सो विद्यालयले हीरक जयन्ती मनाउने भएको हो ।
हीरक जयन्तीका अवसरमा फागुन २ देखि ४ गते सम्म खेलकुद तथा अतिरक्त क्रियाकलाप सञ्चालन गर्ने, फागुन ५ गते विहान मिल्सएरियाका विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थी छात्र र छात्राहरुको ३ कि.मि. सडक दौड, ५ गते विहान ३ कि.मि. सडक दौड, ६ गते रेडक्रस सोसाइटी विराटनगर शाखाको प्राविधिक सहयोगमा वृहत रक्तदान कार्यक्रम, ७ गते पूर्व विद्यार्थीहरुको पूनर्मिलन तथा सम्वाद कार्यक्रम, सोही दिन विद्यालयको ऐतिहासिक डकुमेण्ट्री सार्वजनिक गर्ने र दिउँसो पहिलो चरणमा सम्वाद कार्यक्रम र दोस्रो चरणमा मनोरञ्जन तथा प्रतिभा प्रदर्शन कार्यक्रम गरिने भएको छ ।
फागुन ८ गते अन्तिम दिन २००९ सालदेखि मिल्स माविमा पढाउनु भएकी पूर्वशिक्षक ९४ वर्षीया मणिकला गुरुआमालाई रथ यात्रा मार्फत वर्माटोल, प्रहरी तालिम केन्द्र, झमेली चोक, बैंक रोड, भट्टिमोड, वडा कार्यालय हुँदै विद्यालय वरिपरि परिक्रमा गरेर स्टेजमा आशन ग्रहण गराउने, विद्यालयकै विद्यार्थीहरुबाट निर्मित रोबोटद्वारा स्वागत तथा सम्मान गर्ने र विद्यार्थी निर्मित ड्रोनबाट कार्यक्रमको भिडियो रेकर्ड गर्ने, हीरक जयन्ती स्मारीका विशेष अंक मणिकला गुरुआमावाट विमोचन गर्ने कार्यक्रम तय गरिएको प्रधानाध्यापक विन्दुकुमार लावतीले बताउनुभयो ।
हीरकजयन्तीका अवसरमा विद्यार्थीहरुवाट दर्जनौ गित संगित र नृत्य प्रदर्शन हुने, कला, विज्ञान, स्वास्थ्य, सफ्टवेयर डकुमेण्ट्री प्रदर्शन र प्रधानाध्यापकद्वारा विद्यालयको वर्तमान भौतिक, शैक्षिक, प्रशासनिक एवम् आर्थिक अवस्था र आगामी योजना सहितको प्रतिवेदन प्रस्तुत गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
पत्रकार सम्मेलनमा हीरक जयन्ती आयोजनाको तयारी करिव अन्तिम चरणमा रहेको बताइएको छ । एक साता सम्म मनाईने कार्यक्रममा पूर्व विद्यार्थीको महत्वपूर्ण साथ रहेको प्रधानाध्यापक लावतीले जानकारी दिनुभयो । विद्यालयको आफ्नै आम्दानीको श्रोत नभएको अवस्थामा पूर्व विद्यार्थी र पूर्व शिक्षकहरुले महत्वपूर्ण सहयोग गरेको उहाँले बताउनुभयो ।
हीरक जयन्तीका लागि पूर्व विद्यार्थीबाट ६ लाख ४५ हजार संकलन भईसकेको बताउनुभयो । हीरक जयन्तीका लागि एसएलसी व्याच २०३९ समूहले ३ लाख ४ हजार ५२८, एसएलसी व्याच २०३८ समूहले २ लाख २६ हजार ३६५ र एसएलसी व्याच २०४६ समूहबाट ७३ हजार ६५० संकलन भएको उहाँले बताउनुभयो । अन्य ब्याजका पूर्व विद्यार्थी र पूर्व शिक्षकहरुबाट पनि संकलन भईरहेको उहाँले जानकारी दिनुभयो ।
पूर्व विद्यार्थीले आर्थिक सहयोगसँगै एसएलसी व्याच २०३१ समूहले १ लाख ५५ हजार रुपैयाको एउटा स्मार्ट बोर्ड, स्वर्गीय रघुवीर देवानको स्मृतिमा अक्षयकोष स्थापनाका लागि ५० हजार र मिल्स मावि रात्रीका पूर्व विद्यार्थी स्वर्गीय गणेश देवानको स्मृतिमा परिवारले २० हजार उपलब्ध भएको प्रअ लावतीले बताउनुभयो ।
स्कुलको हीरक जयन्तीका लागि पूर्व विद्यार्थीको सक्रियतामा आर्थिक संकलन गरिएको पूर्वविद्यार्थी तथा हीरक जयन्ती समारोहका संयोजक राजेश सुब्बाले बताउनुभयो । पूर्वविद्यार्थी खोजीको काम भईरहेको समेत उहाँले बताउनुभयो ।
हीरक जयन्तीको अवसरमा विद्यालयले विभिन्न छात्रबृत्तिहरु लगायतका कोषहरुबाट ४४ जनालाई पुरस्कृत तथा सम्मानित गरिने भएको छ । रवर्टशन शाक्य जेहेन्दार छात्रवृत्ति जनही १ हजार ८ सयका दरले १० जना, विनायक छात्रवृत्ति जनही १ हजार ५ सयका दरले ४ जना, बावा विनु उत्कृष्ट छात्रवृत्ति जनही १० हजारका दरले २ जना, भिमप्रसाद दाहाल छात्रवृत्ति जनही ५ हजार ५५५ का दरले २ जना, रामेश्वरलाल शान्तादेवी राठी जेहेन्दार छात्रवृत्ति जनही ५ हजार ५०० का दरले २ जनालाई अक्षयकोष छात्रवृत्ति पुरस्कार प्रदान गरिने भएको छ ।
अनुशासित एवं सबैभन्दा बढी हाजिर र उपस्थित हुने विद्यार्थी ४जनालाई पुरस्कृत गरिने, बालवालिकाको पढाइ लेखाइ सम्बन्धी सबै भन्दा बढी चासो राखेर विद्यालयमा सम्पर्क गर्ने अभिभावक ४ जनालाई सम्मान गरिने, दीर्घ सेवा गरेका शिक्षक–एक जना र कर्मचारी– एक जनालाई सम्मान गर्ने पत्रकार सम्मेलनमा प्रअ लावतीले बताउनुभयो । उहाँका अनुनर एसईईमा शतप्रतिशत रिजल्ट हासिल गर्न सफल शिक्षक–३ जना र एसएलसीमा शतप्रतिशत नतिजा हासिल गर्न सफल १० जना शिक्षकलाई सम्मान तथा पुरस्कृत गरिने छ ।
एक शिक्षकलाई उत्कृष्ट वर्ष शिक्षकका रुपमा पिता स्वर्गीय योगप्रसाद उपाध्यायको स्मृतिमा पूर्व विद्यार्थी प्रकाश दाहाल र परिवारबाट स्थापित पुरस्कार ११ हजार १०० सम्मान तथा पुरस्कृत गरिने कार्यक्रम रहेको छ ।
मिल्स माविमा अहिले १ हजार २४२ विद्यार्थी अध्ययनरत छन् । विद्यालयले नेपाली तथा अंग्रेजी माध्यममा पठन पाठन गर्दै आएको छ ।