विराटनगर १ फागुन । विराटनगरको बुढानिलकण्ठ स्कुलले ‘फन फिस्टा’ तथा ४२ औं बार्षिकोत्सव कार्यक्रमको आयोजना गरेको छ ।
शुक्रबार र शनिबार गरि दुई दिन स्कुलले फन फिस्टा कार्यक्रमको आयोजना गरेको हो ।
स्कुलका प्रिन्सीपल मणिराज भट्टराईले ‘फन फिस्टा’ विद्यार्थीका लागि प्रतिभा देखाउने अवसर भएको बताउनुभयो । विद्यार्थीले अध्ययनका अलवा बर्षभरि सिकेका कुरा प्रदर्शन गर्ने भएकाले कार्यक्रमले भविश्यको लक्ष्यको आधार खोज्न सहयोग गर्ने उहाँले बताउनुभयो ।
स्कुल स्थापनाको ४२ वर्ष तथा नयाँ व्यवस्थापनमा सञ्चालनको ११ वर्षमा धेरै शैक्षिक उपलब्धीहरु हासिल गर्न सफल भएको उहाँले बताउनुभयो । ४ वटा भौतिक पूर्वाधार निर्माण गरि सुविधासम्पन्न स्कुल बनेको उहाँले कार्यक्रममा जानकारी दिनुभयो । ५४ वटा कम्प्युटर सहितको ल्याव, तथा एक सय विद्यार्थी अट्ने क्षमताको सेमीनार हल सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।
स्कुललाई सर्वोत्कृष्ट बनाउने अभियानमा व्यवस्थापन टिम सक्रिय रहेको उहाँले बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिकराम दाहालले कितावको ज्ञानमा मात्रै विद्यार्थीलाई सिमित राख्नु नहुने बताउनुभयो । उहाँले बुढानिलकण्ठ स्कुलले पठन पाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई अब्बल बनाएको बताउनुभयो ।
फन फिस्टामा विद्यार्थीहरूले तयार पारेका एक दर्जन बढी स्टलहरू रहेको स्कुलका अध्यक्ष बुद्धिबहादुर प्रधानले बताउनुभयो । विद्यार्थीहरूले गेम जोन, फेस पेन्ट, विज्ञान प्रदर्शनी, विभिन्न खानाका परिकार लगायतको स्टलहरु राखेको उहाँले बताउनुभयो ।
फन फिस्टाको पहिलो दिन कक्षा पिजी देखि ४ सम्मका विद्यार्थीले नृत्य, गायन लगायतका विभिन्न प्रस्तुतीहरु देखाएका छन् । शनिबार कक्षा ५ देखि १० सम्मका विद्यार्थीले विभिन्न प्रदर्शनी तथा नृत्य, गायन लगायतका प्रस्तुतीहरु देखाउने स्कुलले जनाएको छ ।
