विराटनगर २८ माघ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसले संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाएको छ । सोही क्रममा कांग्रेसका उम्मेदवार तथा वरिष्ठ नेता डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकैदिन पार्टी कार्यालय उद्घाटन गर्नुभएको छ ।
बूढीगंगा गाउँपालिका–१, २, ३, ४, ६ र ७ मा स्थापना गरिएका पार्टी कार्यालय उद्घाटन गर्दै नेता कोइरालाले पछिल्ला वर्षहरूमा गाउँपालिकामा पूर्वाधार विकासले गति लिएको दाबी गर्नुभयोे । उहाँले पिउने पानी, सडक सञ्जाल विस्तार, स्वास्थ्य संस्था स्तरोन्नति लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्नुभयो ।
निर्वाचन मिति नजिकिँदै जाँदा कांग्रेसले गाउँ–टोल केन्द्रित कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको जनाएको छ । डा. कोइराला यतिबेला विभिन्न पेशा–व्यवसायमा आबद्ध समूहसँग छलफल, भेटघाट र घरदैलो अभियानमा सक्रिय रहनु भएको छ ।