फागुन २१ को निर्वाचन हामीले खोजेका थिएनौं, निर्वाचनले खोज्दै आयो : कांग्रेस सभापति थापा

विराटनगर २६ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ गतेको निर्वाचन आफूहरूले खोजेर आएको नभई आफूहरूलाई खोज्दै आएको बताउनु भएको छ । ०८४ को निर्वाचनको तयारी गरिरहेको समयमा त्यसै अगावै निर्वाचन आएको उहाँले बताउनुभयो ।

निर्वाचन अघि कांग्रेसको संरचना परिवर्तन गर्न खोजिएको भन्दै उहाँले भन्नुभयो,‘ निर्वाचन ०८२ मै आएपछि हामीले पनि त्यसै अनुशार संरचना परिवर्तन गरेका हौं ।’ सभापतिमा निर्वाचित भएपछि पहिलो पटक विराटनगरमा आज आयोजित कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा सभापति थापाले सो कुरा बताउनु भएको हो ।

थापाले जेनजी आन्दोलनपछि विभिन्न खालका चलखेलहरू भइरहेको बताउँदै एक खालका मानिसहरू जनताको असन्तुष्टिबाट लाभ लिने प्रयत्नमा लागिरहेको बताउनुभयो । थापाले नागरिकको एउटै आह्वान रहेको सुशासनको नेपाल, समान व्यवहार भएको नेपाल बनाउने रहेको बताउनुभयो । उहाँले विशेष महाधिवेशनपछि कांग्रेस बदलिएर आएको स्पष्ट पार्नुभयो । उनले कांग्रेस कतैबाट आएको नभई बदलिएर आएको बताउनुभयो । स्वतन्त्रता र समानताको विषय कांग्रेसले जहिलै उठाउँदै आएको उहाँको भनाइ छ । थापाले भन्नुभयोे, ‘बदलिएर आएको कांग्रेस जनताको अधिकार स्थापित र सुनिश्चित गर्न सक्षम रहेको छ ।’

थापाले काम गर्ने क्रममा केही कमजोरीहरू भएको स्वीकार गर्दै बदलएको कांग्रेसले कांग्रेसलाई लागेको दागहरू हटाउने दाबी गर्नुभयो । उहाँले भन्नुभयोे, ‘हामी ऐनामा लागेको दाग पुछ्ने नभई अनुहारकै दाग पुछ्न लागेका छौं ।’ सरकारमा टिक्न र निर्वाचन जित्न जोसुकैसँग पनि मिल्न तयार हुँदा समस्या भएको, सरकारमा पुग्नु नै सबैकुरा हो भन्ने सोचले आफ्नो मौलिकता काम गर्दा समस्या भएको धारणा राख्नुभयो ।

चुनाव जित्नु सबैभन्दा ठूलो कुरा हो भनेर लाग्दा समस्या भएको धारणा राख्नुभयो । कायरले मात्रै कमजोरी नस्वीकार्ने साहसीले कमजोरी स्वीकार्ने भन्दै आफूहरूबाट विगतमा कमजोरी भएको स्वीकार गर्नुभयो ।

कार्यकर्ता भेलामा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, डा. शेखर कोइराला, विजयकुमार गच्छदार, ज्ञानेन्द्र कार्की, भिष्मराज आङदम्वे लगायतले नेताहरुले बोल्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेशका २८ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुको पनि सहभागिता रहेको थियो ।