विराटनगर २४ माघ । मोरङ बुढीगंगा गाउँपालिका २ स्थित जेभियर्स इङ्लिस स्कुलले आज ११ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा स्कुलले बुढीगंगा गाउँपालिका स्तरिय परीक्षा, एसईई र हिसानको बार्षिक परीक्षामा पालिका भित्रमा उत्कृष्ट नतिजा दिन सफल विद्यार्थीलाई सम्मानित गरेको छ ।
कक्षा ८ को पालिका स्तरिय परीक्षामा छात्र तर्फ अंकित कार्की क्षेत्री, छात्रा तर्फ रितु मगर, एसईईमा छात्र तर्फ विजय पौडेल र छात्रा तर्फ अञ्जली दास, हिसान परीक्षामा छात्रा तर्फ ललिता राजवंशी र छात्र तर्फ रोहन दाहाल उत्कृष्ट भएका थिए ।
उत्कृष्ट विद्यार्थीहरुलाई बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापामगर, विद्यालयका प्रिन्सीपल परेश पोखरेल, प्याब्सन मोरङका अध्यक्ष जगत वस्नेत लगायतले सम्मानित गर्नु भएको थियो । सोही अवसरमा दोश्रो सुटिङ बल विश्वकप प्रतियोगितामा नेपाललाई रजत पदक दिलाउने कक्षा १२ की प्रमिशा श्रेष्ठ र राष्ट्रपति खेलकुद प्रतियोगिता २०८१ म कराँते खेलमा उत्कृष्ट प्रदर्शन गर्ने पुष्पराज योक्पाङ्गदेनलाई पनि सम्मानित गरिएको थियो ।
कार्यक्रममा बुढीगंगा गाउँपालिका अध्यक्ष जीतनारायण थापामगरले गाउँपालिका भित्रको शिक्षामा सुधार भएको बताउनुभयो । उहाँले शिक्षामा स्वस्थ प्रतिष्पर्धा आवस्यक रहेको बताउनुभयो । विद्यालय र अभिभावकवीच राम्रो समन्वय हुन सके शिक्षामा धेरै सुधार हुने उहाँको भनाई छ ।
प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतले जेभियर्स स्कुलले सीपयुक्त शिक्षा दिएको बताउनुभयो । अध्ययनसँगै विद्यार्थीमा सीप पनि आवस्यक रहेको उहाँले बताउनुभयो । विद्यालय प्रगतिपथमा रहेको उहाँले बताउनुभयो ।
स्कुलका प्रिन्सीपल परेश पोखरेलले कक्षा नर्सरी देखि १२ सम्म अध्ययनका लागि बुढीगंगा छाडेर अन्यत्र जानु नपर्ने बताउनुभएको छ । उहाँले बुढीगंगा भित्र जेभियर्सले उत्कृष्ट शिक्षा दिईरहेको दावी गर्नुभयो । स्कुलका हरेक विद्यार्थी हरेक विधामा उत्कृष्ट रहेको बताउनुभयो । शिक्षासँगै सीप पनि विद्यालयले दिईरहेको उहाँले बताउनुभयो ।
स्कुलकी अध्यक्ष सरिताकुमारी राना मगरले गुणस्तरिय शिक्षाका लागि स्कुलले अहोरात्र काम गरिरहेको बताउनुभयो । शिक्षक, अभिभावक, विद्यार्थी सवैको सहयोगका कारण विद्यालयले शैक्षिक उपलब्धी हाँसिल गर्न सफल भईरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन लगायतका विभिन्न विधामा प्रस्तुती दिएका थिए । जेभियर्स स्कुलमा नर्सरी देखि कक्षा १२ सम्म ९५० विद्यार्थी अध्ययनरत छन् ।

