मोरङमा उम्मेदवार छनोट र सिफारिसमा जुट्यो एमाले

विराटनगर, १३ भदौ । आगामी मंसिर ४ गतेका लागि घोषणा गरिएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) मोरङ उम्मेदवार छनोट र सिफारिसमा जुटेको छ ।

निर्वाचन क्षेत्र समन्वय कमिटीका संयोजकसहितको एमाले मोरङका पदाधिकारीको आज बसेको बैठकले निर्वाचनको आवश्यक तयारीका बारेमा पनि छलफल गरेको छ । साथै पार्टीका तर्फबाट विधिसम्वत रूपमा उम्मेदवार छनोट र सिफारिस गर्नका लागि सर्कुलरसमेत गरिएको छ ।

निर्वाचन क्षेत्र समन्वय कमिटी, महानगर, नगर र गाउँ कमिटीलाई सर्कुलर गरिएको हो । सर्कुलरमार्फत उम्मेदवार छनोट र सिफारिसका लागि आगामी भदौ १८ गते एकै दिन मोरङका १२ वटै प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी तथा भदौ १९ गते ६ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठक आयोजना गर्न निर्देशन दिइएको छ ।

जिल्ला कमिटीको बैठक भने भदौ २१ गतेलाई बोलाइएको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जनकारी दिनु भयो ।