मोरङ ४ : ‘हेभिवेट’लाई रास्वपाका राजवंशीको चुनौती

विराटनगर १७ माघ । मोरङ क्षेत्र नं. ४ मा १९ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । ४ स्वतन्त्र र १५ राजनीतिक दलका उम्मेदवारहरुले चुनावी अभियान तीव्र बनाएका छन् । विगतका निर्वाचनको तुलनामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन फरक देखिएको छ ।

मोरङ ४ मा मुख्य प्रतिष्पर्धा नेपाली कांग्रेस, एमाले र नेकपावीच हुने देखिएपनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पूर्व पत्रकार सन्तोष राजवंशीले कडा टक्कर दिने भएका छन् । सो क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, एमालेका केन्द्रीय सदस्य तथा प्रदेशका पूर्वमन्त्री जीवन घिमिरे, सो क्षेत्रका निवर्तमान सांसद अमनलाल मोदीवीच मुख्य प्रतिष्पर्धा हुने देखिएपनि रास्वपा उम्मेदवार राजवंशीका पक्षमा चुनावी माहौल बढ्दै गएको छ ।

०७९ को निर्वाचनमा रास्वपाका उम्मेदवार ५ हजार ३३३ मत ल्याएर सो क्षेत्रमा चौथो भएका थिए । मुख्य राजनीतिक दलहरुवीच गठबन्धन नभएकाले सो क्षेत्रको परिणाम के हुने भन्ने पूर्व आँकलन गर्न सक्ने अवस्था नभएको स्थानीय मतदाताहरुको भनाई छ ।

०७४ मा एमाले र तत्कालिन नेकपा माओवादीवीचको गठबन्धनबाट र ०७९ मा नेपाली कांग्रेस र माओवादीवीचको गठबन्धनबाट निर्वाचित भएका निवर्तमान सांसद मोदि ह्याट्रिक गर्ने दाउमा ब्रेक लगाउन कांग्रेस र एमालेका उम्मेदवार लागिरहेका छन् ।

नेकपा, कांग्रेस र एमालेको भन्दा पनि आफ्नो पक्षमा माहोल बनेको रास्वपा उम्मेदवार राजवंशीले दावी गरे । उनले भने,‘ मतदाताले नयाँ र यूवा खोजेका छन् । मतदाताको खोजी अनुशारको उम्मेदवार म मात्रै हुँ ।’

क्षेत्र नं. ४ का हरेक वडामा पुग्दा मतदातामा उत्साह देखिएको राजवंशीले बताए । उनले भने,‘ सचिवालय र निर्वाचन कार्यालयहरु खोल्ने क्रम जारी छ ।’ नियमित घरदैलो पनि भईरहेको छ । ’ मोरङ ४ का मतदाताले नयाँ र यूवालाई रोज्नेमा आफु विश्वस्त रहेको राजवंशीले बताए ।

मोरङ ४ मा नेपाली कांग्रेसका गुरुराज घिमिरे, एमालेका जीवन घिमिरे र नेकपाका अमनलाल मोदीले आ–आफ्नो पक्षमा नतिजा आउने दावी गरिरहेका छन् ।

कांग्रेसका घिमिरे ०७९ मा भएको प्रदेशसभा ४ (क) मा एमाले जयप्रकाश चौधरीसँग पराजित भएका थिए । ४ (ख) बाट एमालेका घिमिरे कांग्रेसका भीम पराजुलीसँग पराजित भएका थिए । ०७४ मा प्रदेशसभामा निर्वाचित भएका उनी सामाजिक विकास मन्त्री भएका थिए । मन्त्री हुँदा घिमिरेले आफ्नो मन्त्रालयको कार्यप्रगतीलाई पहिलो नम्वरमा राख्न सफल भएका थिए ।

१ लाख १९ हजार २५ सय ५ मतदाता रहेको मोरङ–४ थारु बाहुल्य क्षेत्र हो । ग्रामथान र कटहरी गाउँपालिकाका सबै वडा तथा विराटनगरका १, २, ३, ८, १०, १९ र बेलबारीका ५, ६, ७ गरी २३ वडा यस क्षेत्रमा पर्छन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा २३ वडामध्ये एमालेले १८, कांग्रेसले ३ र माओवादी केन्द्रले १ वडा जितेको थियो । गत वर्ष भउको उपनिर्वाचनमा ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी निर्वाचित भएका थिए ।