विराटनगर १७ माघ । विराटनगरलाई हरियाली बनाउने अभियान अन्र्तगत अहिले सम्म १५ हजार बिरुवा रोपिएका छन् ।
विराटनगरका मुख्य तथा भित्री सडकहरुमा विभिन्न जातका बिरुवाहरु रोपिएको छ । विराटनगरलाई हरित शहर बनाउने अभियान अन्र्तगत नियमित रुपमा बृक्षरोपण हुँदै आएपनि यसको संरक्षणमा चुनौती देखिएको छ ।
विरुवाको संरक्षणमा समस्या भएको अभियानको नेतृत्व गरिरहनु भएका पारुल क्षेत्रीले बताउनुभयो । विराटनगरका सडकहरु विरुवा मैत्री नभएको उहाँले गुनासो गर्नुभयो । हरित अभियानले आज विराटनगरमा विभिन्न क्षेत्रका विज्ञहरुसँगको छलफल कार्यक्रममा क्षेत्रीले भन्नुभयो,‘ बिरुवा हुर्काउन समस्या भयो । संरक्षणका लागि प्रयोग गरिएका तारका घेराबाराहरु पनि सुरक्षित भएनन् ।’

बिरुवाहरु संरक्षण नहुँदा पुन बिरुवा रोप्नुपर्ने अवस्था भएको उहाँले बताउनुभयो । हरित विराटनगर अभियानले एक लाख बिरुवा रोप्ने लक्ष्य रहेको अभियानकर्मी क्षेत्रीले बताउनुभयो । सडक क्षेत्रका लागि उपयुक्त बिरुवाहरुको पनि अभाव रहेको उहाँको भनाई छ । आम सहभागितामा नियमित बृक्षरोपण र संरक्षणको काम भईरहेको उहाँले बताउनुभयो ।
वनस्पति विज्ञ भविन्द्र निरौलाले सडक क्षेत्रमा सानाकद बिरुवाहरु रोप्न सुझाव दिनुभयो । उहाँले सदावहार हरियाली भईरहने रैथान जातका बिरुवाहरु रोप्नुपर्नेमा उहाँको जोड छ । बार्है महिना बिरुवा नरोप्न उहाँको सुझाव छ । उहाँले भन्नुभयो,‘ बर्षाको समयमा बृक्षरोपण गरौं, अन्य समयमा संरक्षणको काम गरौं ।’
किट विज्ञ सोमप्रसाद निरौलाले स्थानीयको सहभागितामा बिरुवा संरक्षण गर्नुपर्ने बताउनुभयो । स्थानीयले बिरुवा संरक्षणको स्वामित्व लिएभने सहज हुने उहाँको भनाई छ । स्थानीय र पात नझर्ने खालका बिरुवाहरुलाई प्राथमिकता दिन अभियानकर्मीहरुलाई निरौलाको आग्रह छ । वातावरण अभियान्ता मधु राईले सडक सौन्दर्य हुने खालका विरुवा रोप्नुपर्ने बताउनुभयो ।
छलफल कार्यक्रममा काली मन्दिर विराटनगर अध्यक्ष मिनाक्षी नेपाल, अभियानकर्मी भरत सुब्बा , भगवती वस्नेत, सुनिता पौडेल भट्टराई, राजन दाहाल, रमण गौतम लगायतले हरित विराटनगर बनाउने अभियानमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।