गाँजा खेतीलाई वैधानिक बनाउने राजेन्द्र राईको मुख्य चुनावी एजेन्डा

विराटनगर १४ माघ । नेकपा (एमाले) का तर्फबाट धनकुटाका प्रतिनिधि सभा उम्मेदवार राजेन्द्रकुमार राईले गाँजा खेतीको वैधानिकतालाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाउनु भएको छ ।

आज धनकुटामा पत्रकार सम्मेलन गरी उनले सार्वजनिक गरेको १४ बुँदे प्रतिबद्धता पत्रमा गाँजा खेतीलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने विषयलाई प्राथमिकताका साथ उठाउनु भएको छ । पूर्वमन्त्री समेत रहेका राईले गाँजा खेतीका कारण कानुनी झमेलामा परेका निर्दाेष नागरिकका मुद्दा पुनरावलोकन गरी उनीहरूलाई रिहाइ गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

धनकुटाको आर्थिक रूपान्तरणका लागि गाँजा खेतीलाई वैधानिक बनाउनुपर्नेमा उनले जोड दिनु भएको छ । प्रतिबद्धता पत्रमा धरान–लेउती सुरुङमार्ग निर्माण, शिक्षण अस्पताल स्थापना र चौबिसे तथा महालक्ष्मीमा नमुना सहर बनाउने योजनाहरू पनि समावेश छन् ।

कृषि क्षेत्रमा चिया, एभोकाडो, सुन्तला र किवीजस्ता फलफूलको व्यावसायिक उत्पादन र प्रशोधन केन्द्र स्थापना गर्ने राईको योजना छ । यस्तै, नमस्ते झरनादेखि नाम्जेसम्म केबलकार निर्माण गर्ने, ऐतिहासिक तल्लो टुँडिखेललाई आधुनिक रंगशाला बनाउने र खुवालुङ–लालीगुराँस पदमार्ग विकास गर्ने विषयलाई पनि उनले महत्त्वका साथ अघि सार्नुभएको छ ।

राईले आफू सांसद र मन्त्री हुँदा सुरु भएका अधुरा योजनाहरू सम्पन्न गर्ने र किसानलाई सरल ब्याजदरमा ऋण उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।