विराटनगर ८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कोशी प्रदेशका ६ स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्ष गरि ७ जनाले कार्यकाल पुरा नगरि उम्मेदवारी दिएका छन् ।
स्थानीय तहमा राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवारी दिनेमा नेकपाका ३ प्रमुख र एक वडाध्यक्ष, एमालेका एक प्रमुख र एक उपप्रमुख र श्रम संस्कृति पार्टीका एक प्रमुख रहेका छन् ।
प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने ४ स्थानीय तहका प्रमुखहरु ०७४ र ०७९ दुवै निर्वाचनमा निर्वाचित भएका थिए ।
सोलुखुम्वुको थुलुङदुधकोशी गाउँपालिकाको प्रमुखमा असिम राई तत्कालिन नेकपा माओवादी केन्द्रबाट २०७४ र ०७९ मा निर्वाचित हुनु भएको थियो । राईले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट सोलुखुम्वुमा उम्मेदवारी दिनु भएको छ ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको प्रमुखमा मेजर राई तत्कालिन नेकपा माओवादी केन्द्रबाट २०७४ र ०७९ मा निर्वाचित हुनु भएको थियो । राईले प्रतिनिधिसभा सदस्यमा उदयपुर क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिनु भएको छ ।
मोरङको रंगेली नगरपालिकाको प्रमुखमा २०७४ मा नेकपा माओवादी केन्द्र र ०७९ मा नेकपा एमालेबाट दिलिप बगडिया निर्वाचित हुनु भएको थियो । बगडियाले मोरङ २ मा एमालेबाट उम्मेदवारी दिनु भएको छ ।
इलामको सुर्योदय नगरपालिकामा २०७४ मा एमाले र ०७९ मा एकिकृत समाजवादीबाट रणबहादुर राई निर्वाचित हुनु भएको थियो । राईले नेकपाबाट इलाम क्षेत्र नं. १ बाट उम्मेदवारी दिनु भएको छ ।
सुनसरीको धरान उपमहानगरपालिकामा २०७९ मा हर्कराज राई स्वतन्त्रबाट निर्वाचित हुनु भएको थियो । राईले आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी गठन गरि सुनसरी १ बाट उम्मेदवारी दिनु भएको छ ।
ओखलढुङ्गाको लिखु गाउँपालिकामा २०७९ मा नेकपा एमालेबाट अस्मिता थापा उपप्रमुखमा निर्वाचित हुनु भएको थियो । २९ बर्षीय थापाले एमालेबाट ओखलढुङ्गामा उम्मेदवारी दिनु भएको छ ।
सुनसरीको धरान उपमहानगरपालिकाको वडा नं १७ बाट २०७४ र ०७९ मा नेकपा माओवादी केन्द्रबाट मनोज भट्टराई निर्वाचित हुनु भएको थियो । भट्टराईले नेकपाबाट सुनसरी १ मा उम्मेदवारी दिनु भएको छ ।