जेनजी आन्दोलनमा आगजनी, तोडफोड भएका संरचना बनाउँछौं : एमाले अध्यक्ष ओली

विराटनगर ६ माघ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेएनजी आन्दोलनको आवरणमा मुलुकको प्रमुख संरचनामा आगजनी र तोडफोड गरिएको संरचना आफूहरूले बनाउने बताउनु भएको छ ।

देशको संरचना जलाएर–भत्काएर–तोडफोड गरेर नयाँ नेपाल नबन्ने उहाँले बताउनु भयो । आज दमक क्षेत्रमा जेएनजी आन्दोलनको क्रममा क्षतिग्रस्त संरचनाको स्थलगत अवलोकन गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

अध्यक्ष ओलीले इलाका प्रहरी कार्यालय दमक, दमक नगरपालिका कार्यालय, दमक नगर प्रमुख रामकुमार थापाको निवास तथा स्थानीय बुद्धि थापाको घरको अवलोकन गर्दै जलाएर र भत्काएर मूलक बनाउने सपना देख्नु नहुने बताउनु भयो । “जलाउन र भत्काउन सजिलो छ तर बनाउन धेरै गाह्रो छ” उहाँले भन्नु भयो । जेएनजी आन्दोलनपछि उहाँ पहिलो पटक दमक आउनु भएको हो ।

अवलोकनको क्रममा ओलीले आगजनी र तोडफोड गर्ने काम नेकपा (एमाले) को नीति र चरित्र नभएको स्पष्ट पार्दै एमालेले सधैं निर्माण र विकासको बाटो अपनाउँदै आएको बताउनु भयो । “हाम्रो काम जलाउने र भत्काउने होइन, भत्केको र विग्रेको एमालेले बनाउँछ” उहाँले भन्नु भयो ।