विराटनगर ६ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै क्षेत्रसहित मुलुकभरका निर्वाचन क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको उम्मेदवारीको मनोनयनपत्र दर्ता गर्न निर्वाचन आयोगले मंगलबार बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा समय निर्धारण गरेको थियो ।
निर्वाचन आयोगका अनुसार २७५ स्थानका लागि राजनीतिक दल र स्वतन्त्रबाट गरी साँझ ५ बजेसम्मको विवरणमा दुई हजार ३३५ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय परिसरमा प्रवेश गरिसकेका उम्मेदवारले ५ बजेपछि पनि दर्ता गराउन सक्नेछन् ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मनोनयनपत्रको समग्र अवस्थाबारे आयोगले केहीबेर पछि पत्रकार सम्मेलन गरी जानकारी दिने बताउनुभयो ।