विराटनगर, ४ भदौ । विराटनगरमा ५४ औं संस्करणको रथयात्रा भव्य रुपमा निकालिएको छ । गएका दुई संस्करण कोरोना महामारीका कारण हुन सकेको थिएन ।
दुई वर्षपछि निकालिएको रथयात्रामा उल्लेख्य सहभागिता रहेको छ । विराटनगर १ राधाकृष्ण मन्दिर परिसरबाट दिउँसो साढे ३ वजे निकालिएको रथयात्राले ९ किलोमिटर दुरी पारगर्दै सोही स्थानमा पुगेर समापन हुनेछ । यसअघि रथयात्राले ७ किलोमिटर दुरी पार गर्ने गरेको थियो । रथयात्रा शुरु भएको ५४ वर्षपछि रथयात्राको दुरी ९ किलोमिटर भएको छ । यसअघि ट्राफिक चौक हुँदै महेन्द्र चौकबाट उत्तर लाग्ने गरेको रथ यस वर्षदेखि ट्राफिक चौकबाट रोडशेष हुँदै उत्तरलाग्ने रुट तय गरिएको थियो । महेन्द्र चोक सडक खण्डमा सडक सौन्दर्यकरणका कारण रथलाई वारपारमा समस्या भएको हो । रथयात्रामा दर्शनार्थीको सहभागिता उल्लेख्य रहेको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा रथयात्रा मुल समारोह समितिका संयोजक कैलाश रेग्मीले बताउनुभयो । उहाँका अनुसार सहभागिता विगत वर्षहरुकै तुलनामा छ ।
रथयात्राको सुरक्षाका लागि नेपाल र सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरीसहित गरेर ९ सय ६० जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका ३ जना डीएसपी फिल्डमा खटिएका छन् । डीएसपी दिपक श्रेष्ठले अत्यधिक भीडभाड हुने भएकाले रथयात्राका क्रममा सुनचाँदीका गरगहना नलगाउन, साथमा नगद नबोक्न, सामानको सुरक्षामा ध्यान दिन र बहुमूल्य वस्तुको प्रयोग नगर्न सबैमा आह्वान गरिएको बताउनु भयो ।
सीसी क्यामेराबाट पनि रथयात्रा निगरानीको व्यवस्था मिलाइएको उहाँको भनाइ छ । विक्रम संवत १९८८ सालबाट सुरु भएको खटयात्रालाई २०२५ सालदेखि रथयात्रामा परिणत गरिएको हो । रथयात्राका लागि २२ फिट लम्बाई, १४ फिट चौडाई र १८ फिट उचाईको रथ तयार पारिएको छ । विराटनगरको रथयात्रालाई दक्षिण एसियाकै दोस्रो ऐतिहासिक रथयात्रा मान्ने गरिन्छ ।
रथयात्राको अवलोकन गर्न नेपालका विभिन्न जिल्ला र छिमेकी मुलुक भारतबाट समेत हजारौँ भक्तजन आउने गरेका छन् । रथयात्रा अहिले जारी छ ।