कोशी र गण्डकी प्रदेशबीच पर्यटनमा सहकार्य गर्ने समझदारी

विराटनगर २९ पुस । कोशी र गण्डकी प्रदेशबीच पर्यटनमा सहकार्य गर्ने समझदारी भएको छ । सोमबार पोखरामा भएको कोशी प्रदेश पर्यटन वर्ष २०८२ को सन्दर्भमा अन्तर प्रदेश पर्यटन प्रवद्र्धन सम्बन्धी सद्भावना भ्रमण तथा अन्तरक्रिया कार्यक्रममा दुई प्रदेशबीच पर्यटनमा सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका निमित्त सचिव टीकाराम पौडेल र कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. ईन्द्रप्रसाद सापकोटाले हस्ताक्षर गर्नुभयो । समझदारी अनुसार २ प्रदेशबीच पर्यटन विकास, प्रवद्र्धन, पूर्वाधार, पहुँच बिस्तार, मानव संशाधन विकास तथा संस्थागत सहकार्यलाई सुदृढ बनाउन सहकार्य गरिने छ ।

सम्झौता पत्रमा दुवै प्रदेशका सरकारी कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकहरूलाई लक्षित गरी अन्तर प्रदेश भ्रमण कार्यक्रम सञ्चालन गर्न सरकारी तहमा इन्सेन्टिभ प्याकेज र निजी तथा व्यावसायिक तहमा सुलभ प्याकेजका लागि पहल गर्ने उल्लेख छ ।

२ प्रदेशबीच पर्यटन प्रवद्र्धनका लागि पोखरा–विराटनगर सिधा हवाई सेवा तथा पर्यटकीय बस सेवा सञ्चालनका लागि पहल गर्ने, पर्यटन विकास र प्रवद्र्धनका लागि भएका असल अभ्यास आदानप्रदान गर्ने लगायतमा पनि समझदारी भएको बताइएको छ ।

त्यस्तै, पर्यटन प्रवद्र्धनका लागि समन्वय र सहकार्य गर्ने, हवाई भाडा सम्बन्धी विषयमा पनि आपसी सहकार्य र पहल गर्ने, संयुक्त पर्यटन दूत बनाउने पनि समझदारी उल्लेख भएको छ ।

दुवै प्रदेशले धार्मिक पर्यटन सर्किट विकास तथा प्रवद्र्धन गर्न समन्वय र सहकार्य गर्ने जनाएका छन् । जस अनुसार प्रथम चरणमा गण्डकी प्रदेशको मनकामना, मुक्तिनाथ र दामोदर कुण्ड तथा कोशी प्रदेशको पाथीभरा, बराह क्षेत्र र हलेसी लगायतका धार्मिक पर्यटन सर्किटका रूपमा विकास गर्न पहलकदमी लिने सम्झौता पत्रमा उल्लेख छ ।

कोशी र गण्डकी प्रदेशबीच अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्ने, दुवै प्रदेशका होमस्टेहरुबीच भगिनी सम्बन्ध स्थापना गर्न पहल गर्ने पनि सम्झौता भएको छ ।

सम्झौता कार्यान्वयनका लागि कोशी–गण्डकी पर्यटन प्रवद्र्धन समन्वय समिति गठन गर्ने समझदारी भएको छ । पर्यटन मन्त्री संयोजक र मन्त्रालयका सचिव सदस्यसचिव रहने सो समितिको संयोजक र सदस्यसचिव आलोपालो रहने जनाइएको छ । सदस्यहरूमा पोखरा पर्यटन परिषद्का अध्यक्ष, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, कोशी प्रदेश पर्यटन वर्ष २०८२ निर्देशक समितिका सहसंयोकहरु २ जना लगायत रहने छन् ।

सो अवसरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले पर्यटनमा सहकार्य गर्न सके दुवै प्रदेश लाभान्वित हुने बताए । त्यसका लागि आफूहरू लागी परेको उहाँले बताउनुभयो ।