सुनसरीको काेशी गाउँपालिकामा गाेली प्रहारबाट एक जनाकाे मृत्यु

विराटनगर १७ पुस । सुनसरीको कोशी गाँउपालिकामा भारतबाट मध्यरात तस्कर गरि सरसमान ल्याइरहेका एक ब्यक्तिको गोली लागि मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोशी गाँउपालिका वडा नम्बर १ मा मध्यरात सीमा सुरक्षामा रहेका सशस्त्र प्रहरी बलको टोलीबाट तस्करीमा रहेको सिटी सफारीका चालकमाथि गोली प्रहार भएको हो ।

सुनसरी प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक चन्द्र खड्काका अनुसार रातिको समय सीमामा गस्ती गरिरहेको टोलीबाट चलेको गोलीबाट सुनसरीका ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।

सुनसरीका प्रहरी नायब उपरिक्षक खड्काले सिटी सफारीमा चिनी, लुगाधुन प्रयोग हुने सरफ, कुर्ता लगायतका सामान रहेको जानकारी दिए ।

घटनास्थलमा गोलीका खोका बरामद भएको उनले जानकारी दिए । साहको शव हाल घटना भएको स्थानमा रहेको र स्थिती तनावमय बनेको उनले बताए ।

अर्कोतर्फ, सशस्त्र प्रहरी बलले भने रातिको समय तस्कर भएको सूचनासंगै चेकजाँच गर्नेक्रममा भाग्दै गरेका साहबाट गोली चलेको जनाएको छ ।

साहले सुरुमा गोली चलाएपछि प्रतिउत्तरमा गस्तीको टोलीले गोली चलाएको सशस्त्रको भनाई छ ।

हाल घटनास्थलमा स्थिती नियन्त्रणमा लिनका लागि करिब २ सय सशस्त्र टोली पुगेकाछन् । घटना भएको स्थान भारतीय सीमाबाट करिब ५ सय मिटर उत्तर सुनसरीको लौकही नजिक भएको प्रहरीले जनाएको छ ।