मानव बेचविखन तथा ओसारपसार नेपाल र भारतविचमा मात्र सिमित छैन : महानगर प्रमुख कोइराला

विराटनगर १६ पुस । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले मानव बेचविखन तथा ओसारपसार नेपाल र भारतविचमा मात्र सिमित नरहेको बताउनु भएको छ । उहाँले मानव बेचविखन तथा ओसारपसार विश्वव्यापी सवाल बनेको बताउनुभयो ।

माइती नेपाल विराटनगरको आयोजनामा महानगरपालिका परियोजना सल्लाहकार समितिको आज बसेको बैठकमा प्रमुख कोइरालाले सो कुरा बताउनु भएको हो । उहाँले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि अन्तराष्ट्रिय स्तरको प्रयास आवस्यक भएकोमा जोड दिनुभयो । उहाँले विराटनगरमा हालै सम्पन्न नेपाल र भारतका सरोकारवालावीच भएको छलफल अन्तरराष्ट्रिय स्तरका सरोकारवालाहरु सहित पनि आयोजना गर्न माईती नेपाललाई आग्रह गर्नुभयो । मानव बेचविखन जघन्य अपराध भएकाले यसको नियन्त्रण आवस्यक भएको उहाँले बताउनुभयो ।

मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले प्राथमिकतामा राखेर आगामी वर्षदेखि बजेट तथा कार्यक्रम तय गर्ने प्रतिबद्धता जनाउनुभयो । बैठकमा माईती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले रानी जोगवनी सीमानाका क्षेत्रबाट सन् २०२५ मा १०८ जना महिला तथा बालिकाको उद्धार गरिएको बताउनुभयो । उहाँले उद्धार गरिएको १०८ जना मध्ये विराटनगर महानगरपालिका क्षेत्रका १५ जना रहेको जानकारी दिनुभयो । उहाँले विराटनगर ४ र ८ का ४/४ जना, ७ र १६ नं. वडाका २–२ जना र ५, १० र ११ वडाका १–१ जना रहेको बताउनुभयो ।

परियोजना सल्लाहकार समितिको बैठकमा माइती नेपाल विराटनगरकी मनोपरामर्शकर्ता गीताञ्जली शर्माले. विराटनगर महागरपालिकाको वडा नं. ८, १३, १५, १६ नं वडामा मानव बेचविखन विरुद्धको समिति सन्जाल समुह गठन गरेर काम गरिरहेको बताउनुभयो । उहाँले विराटनगरका विद्यालय र मदरसाका विद्यार्थीहरुसंग पनि सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो ।

 मानव वेचविखन तथा ओसारपसार नियन्त्रण समिति गठन
विराटनगर महानगरपालिका स्तरिय मानव वेचविखन तथा ओसारपसार नियन्त्रण समिति गठन गरिएको छ । मोरङका १७ वटा स्थानीय तहहरु मध्ये समिति गठन गर्नेमा विराटनगर पहिलो भएको छ ।

महानगरपालिकाले मानव वेचविखन तथा ओसारपसार नियन्त्रण समिति (गठन तथा सञ्चालन) सम्वन्धी कार्यविधि २०८२ बनाएर गत पुस ७ गते राजपत्रमा प्रकाशित गरेको थियो । कार्यविधि राजपत्रमा प्रकाशित भएपछि आज महानगर स्तरिय समिति गठन भएको हो ।

समितिको संयोजकमा महानगर प्रमुख रहने व्यवस्था छ । प्रमुखको संयोजकत्वमा १० सदस्यीय समिति गठन भएको सदस्य सचिव मञ्जु लोहनीले जानकारी दिनुभयो । आज बसेको समितिको पहिलो बैठकले समितिलाई पूर्णता दिनका लागि सदस्यमा एबीसी नेपाल र माईती नेपाललाई राख्ने निर्णय गरेको छ । स्थानीय तहमा संवन्धित क्षेत्रमा क्रियाशिल संघसंस्था अन्र्तगत दुई संस्थाका प्रतिनिधिहरुलाई सदस्यका रुपमा मनोनित गरिएको हो ।

महानगरका १९ वटै वडामा वडास्तरिय समिति पनि गठन हुने सदस्यसचिव लोहनीले बताउनुभयो । उहाँका अनुशार समितिले मानव वेचविखन तथा ओसारपसार विरुद्ध नगर तथा वडामा अभियान सञ्चालन, सुरक्षा तथा आवास गृहको अनुगमन तथा निरीक्षण, मानव वेचविखन विरुद्धको कोष स्थापना र सञ्चालन तथा मानव वेचविखन तथा ओसारपसार विरुद्ध स्थानीय जनप्रतिनिधि, नागरिक समाज , तथा सरोकारवालालाई प्रशिक्षण तथा क्षमता विकासको कार्यक्रम गर्ने छ ।