विराटनगर ९ पुस । अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई साझा मुद्धा बनाउन सरोकारवालाहरुले जोड दिएका छन् । अन्तरसंस्था साझा मुद्धा बनाउनुपर्नेमा उनीहरुको जोड छ ।
राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले अपाङ्गता भएका व्यक्तिहरुका लागि गरिरहेको कार्य र आगामी दिन गर्न सकिने सहकार्यका विषयमा पुस ८ गते मंगलबार आयोजित बैठकमा सो कुरामा जोड दिईएको हो ।
बैठकमा नेपाल नगरपालिका संघ कोशी प्रदेशका अध्यक्ष तथा मोरङको बेलबारी नगरपालिकाका प्रमुख डिपी राईले अपाङ्गता भएका व्यक्तिहरुको सवालमा आफुहरु संवेदनशिल रहेको बताउनुभयो । उहाँले प्राथमिकताका साथ नगरपालिकाले काम गरिरहेको उहाँको भनाई छ । आगामी दिनमा योजना निर्माणमा सरोकारवालाहरुवीचको बैठकले सहयोग गरेको बताउनुभयो ।
राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशका अध्यक्ष नविन ढुङ्गेलले महासंघले गरिरहेका कामको प्रस्तुती गर्दै आगामी दिनमा सरोकारवालाहरुवीच साझा मुद्धा बनाएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
सरोकारवालाहरुको बैठकको निश्कर्षका आधारमा आगामी कार्ययोजना तय गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो । अपाङ्गता अपाङ्ग व्यक्तिहरुको पीडा मात्र हो भन्ने भान भइरहेको उहाँले बताउनुभयो । अपाङ्गताको सवालमा काम गर्ने व्यक्ति र संघसंगठनहरु अपाङ्गताका ठेकेदार हुन् भन्ने गलत बुझाई पनि समाजमा रहेको उहाँको भनाइ छ ।
नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभाका आधारमा सीपमुलक कार्यक्रम गर्न आग्रह गर्नुभयो ।
अपाङ्गता भएका व्यक्तिहरुमा लुकेर रहेका क्षमताहरु सञ्चार माध्यमहरु मार्फत उजागर गर्न महासंघले सहयोग गर्न तयार रहेको रहेको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको सवालमा एउटै संस्थाले मात्रै वकालत गर्ने भन्दा पनि सवै संस्थाहरुको सामुहिक प्रयास आवस्यक रहेका बताउनुभयो ।
कोशी प्रदेश जेष्ठ नागरिक महासंघका अध्यक्ष मणी अज्र्यालले अपाङ्गता भएका व्यक्तिहरुको लागि नीति नियमहरु भएपनि कार्यान्वयन पक्ष फितलो भएको गुनासो गर्नुभयो । उहाँले भौतिक पूर्वाधार निर्माणहरुमा पनि अपाङ्गतामैत्रीको पक्षलाई अझैपनि ध्यान नदिईएको बताउनुभयो ।
गैसस महासंघ मोरङ अध्यक्ष विष्णु शर्माले अपाङ्गता भएका व्यक्तिको सवाल सवैले साझा बनाएर अघि बढ्न आग्रह गर्नुभयो । अधिकारकर्मी देवी बाँस्कोटाले अपाङ्गता भएका व्यक्तिहरुको क्षमताको आधारमा रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
कोप्यापका प्रकाश परियारले मुद्धाहरु सामुहिक बनाएर जानुपर्ने बताउनुभयो । उहाँले एउटा संस्थाले एउटा मात्रै मुद्धा बोकेर नहिँड्न आग्रह गर्नुभयो ।
प्रयास नेपालका अध्यक्ष त्रिलोक न्यौपानेले जागरणका लागि सवैको सहकार्य आवस्यक रहेकोमा जोड दिनुभयो ।
पत्रकार गणेश लम्सालले अपाङ्गताको सवालमा लेख्ने पत्रकारहरुका लागि लेखनबृत्तिको कार्यक्रम राख्न आग्रह गर्नुभयो ।