ट्रक चालक तथा सहचालकका लागि निःशुल्क आँखा शिविर

विराटनगर, २ पुस । विराटनगर ट्रक व्यवसायी संघको आयोजनामा आज ट्रक चालक तथा सह–चालकहरूका लागि निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ मोरङ शाखाको सहकार्यमा शिविर आयोजना गरिएको विराटनगर ट्रक व्यवशायी संघका अध्यक्ष सञ्जीव सिग्देलले जानकारी दिनुभयो ।

मोरङको बुढीगंगा गाउँपालिका वडा नं. २ मा रहेको संघको ट्रक पार्किङ स्थलमा आयोजित शिविरमा चालक, सहचालक र अन्यसमेत गरी एकसय दुई जनाले सेवा लिएको सिग्देलले जानकारी दिनुभयो ।

आँखा परीक्षणका  क्रममा आवश्यक औषधि निःशुल्क तथा चश्मा सहुलियत दरमा प्रदान गरिएको थियो ।

पाँच जनामा मोतियाविन्दुको समस्या देखिएकोमा उनीहरुको विराटनगर आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गरिदिने जनाएको छ ।