समानुपातिक निर्वाचन तालिका सार्वजनिक, पुस १३–१४ मा बन्द सूची बुझाउनुपर्ने

विराटनगर १६ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ देखि सुरू हुने भएको छ ।

निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गरिने छ ।

त्यसैगरी आगामी पुस १३–१४ गते समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने समय तोकिएको छ भने माघ ४ गते प्रारम्भिक सूची प्रकाशित गरिने प्रवक्ता भट्टराईले बताए । प्रारम्भिक सूची उपर दावी विरोध र उजुरीको छानबिन गरी माघ २० गते उम्मेदवारहरूको अन्तिम बन्द सूची प्रकाशन गरिने छ ।

विद्यमान कानुन अनुसार प्रतिनिधिसभाका २७५ सदस्यको चयन प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ ।

प्रतिनिधिसभामा १६५ सदस्यको प्रत्यक्ष र बाँकी ११० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वद्वारा गरिने कानूनी व्यवस्था रहेको छ । प्रत्यक्षतर्फ भने आगामी माघ ६ गते उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।