विराटनगरको एभरेष्ट स्कुलमा वादविवाद कार्यशाला

विराटनगर ३० कात्तिक । संसदीय अभ्यास अनुसारको वादविवाद गर्न सिकाउने लक्ष्यका साथ विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले आफ्ना विद्यार्थीहरुलाई तीन दिने वादविवाद कार्यशाला सञ्चालन गरेको छ ।

डिवेट नेटवर्क नेपाल (डीएनएन) नामक संस्थासँगको सहकार्यमा एभरेष्टले कार्यशाला सञ्चालन गरेको हो । जहाँ कक्षा ६ देखि ११ का वादविवादमा रुचि राख्ने १२० जना विद्यार्थीले सहभागिता जनाएका छन् ।

एभरेष्ट स्कुलको सभा हलहरूमा भइरहेको कार्यशालामा डिएनएनका तीन जना प्रतिनिधिहरु इशान पोखरेल, पीयुष पन्त र आशिमा चालिसेले विद्यार्थीहरुलाई सहजिकरण गरेका छन् ।

कार्यशालामा विद्यार्थीहरुलाई स्पष्ट वक्ता बन्नका लागि चाहिने आवश्यक गुण, वाचनका शैली तथा विषयवस्तुको अध्ययन र प्रस्तुती लगायतका विषयहरुमा सिकाइने छ ।

यसका साथै संसदमा कसरी आफ्ना तर्कहरु राखिन्छ, त्यहाँको मर्यादा कस्तो हुन्छ ? के कस्ता कुराहरुमा ध्यान दिनुपर्छ भन्ने विषयहरूले पनि कार्यशालामा महत्व पाउने विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले बताए। उनका अनुसार ‘वर्ल्ड डिवेट च्याम्पियनसीप’ को शैली विद्यार्थीहरुले सिक्ने विश्वास विद्यालयको छ ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले आफ्ना तर्क र खण्डनलाई कसरी मर्यादित भएर प्रस्तुत गर्ने ? तथा नेपालको संसदीय अभ्यास तथा शक्तिशाली र सम्पन्न राष्ट्रहरुको संसदीय अभ्यासका विषयमा पनि जानकारी दिलाउन यो कार्यशाला प्रभावकारी हुने बताए। उनले भने,‘ नेपालको संसदीय अभ्यास हेर्दा कहिलेकाँही मर्यादा विपरीत भएको देखिने गरेको छ, त्यसैले भोलिका कर्णधारहरुलाई बेलैदेखि यसरी अभ्यास गराउन आवश्यक छ ।’

अन्तर्राष्ट्रिय स्तरमा आफ्ना विद्यार्थीलाई सहभागिता गराउँदै अघि बढेको एभरेष्टले त्यस्ता फोरमहरुमा पनि अब्बलता प्रस्तुत गरेको छ ।

आफ्नै विद्यार्थीहरु बिच संयुक्त राष्ट्रसंघको नमुना अभ्यास कार्यक्रम गरेको एभरेष्टका विद्यार्थीहरुले त्यस्तै कार्यक्रममा विभिन्न मुलुकका विद्यार्थीहरुमाझ भियतनाममा उत्कृष्ट प्रस्तुती गरेर फर्किएका छन् ।

एभरेष्टकै इशल भट्टराईले थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको वक्तृत्वकलामा सेमिफाइनलमा उत्कृष्ट प्रस्तुति दिएर फाइनल स्पर्धामा भाग लिन चीन गएका छन् ।