विराटनगर ५ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका मोरङ क्षेत्र नं. ५ का उम्मेदवार राजकुमार यादवले ३२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।
विराटनगर १४ रामजानकी मन्दिरमा पत्रकार सम्मेलन मार्फत खुला प्रचार अभियानको औपचारिक सुरुवात गर्दै उहाँले ६ वटा प्राथमिकता क्षेत्रमा आधारित रहेर ३२ बुँदा सार्वजनिक गर्नु भएको हो । शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, पूर्वाधार, पर्यटनलाई प्राथमिकतामा राखेर चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो ।
उम्मेदवार यादवले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री र प्रतिष्पर्धी बनाउने, प्राविधिक तथा सीपमुलक शिक्षाबाट यूवालाई दक्ष बनाउने, क्षेत्र नं. ५ बा २४ वटै वडामा प्रभावकारी स्वास्थ्य सेवा, बन्द उद्योग पुन ःसञ्चालन र नयाँ उद्योग स्थापना, सहुलियत ऋणमार्फत उद्यमशिलता प्रबद्र्धन गर्ने उहाँले बताउनुभयो ।
बाँझो जमिन राख्न नपाईने गरि उत्पादनमा जोड दिने, मल, बिउ, सिंचाईको सहज उपलब्धता, आधुनिक कृषि प्रविधि र यान्त्रिकरणको विस्तार, क्षेत्र नं. ५ का सडक कालोपत्रे, पुल निर्माण र ढल व्यवस्थापन, सुरक्षित खानेपानी, विद्युतको विस्तार गर्ने प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
विराट राजाको दरवार संरक्षण र सौन्दर्यकरण गरि आन्तरिक तथा बाह्य पर्यटक भित्राइने, रंगेलीको सन्सारीमाई मन्दिर स्तरोन्नती, पार्क, ताल, पोखरीको विकास गरिने यादवले बताउनुभयो । भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलता, सुकुम्वासीलाई अधिकार, आवास र सम्मान, क्षेत्र नं. ५ लाई विकासको नूमना क्षेत्र बनाउने संकल्प लिनु भएको छ ।
दोश्रो संविधानसभा २०७०, प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४, ०७९ र ०८२ गरि चौथो पटक यादव प्रतिष्पर्धामा रहनु भएको छ । चौथो प्रयासमा परिणाम निकाल्नेमा आफु विश्वस्त रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ तीन पटक झिनो मतान्तरले पराजित भएँ । यस पटक गठबन्धन छैन । परिणाम मेरो पक्षमा आउने छ ।’
पटक–पटक जितेकाहरुले क्षेत्र नं. ५ मा विकास निर्माण, स्वास्थ्य, शिक्षा, पर्यटन, रोजगार लगायतका क्षेत्रमा कुनै काम गर्न नसकेको उहाँले बताउनुभयो । निर्वाचनमा पराजित भएपनि स्थानीयका सुख–दुखमा आँफुसँधै सँगै रहेको यादवले बताउनुभयो ।
गत माघ ६ गते उम्मेदवारी दर्तापछि घरदैलो, कार्यकर्ता भेटघाटका कार्यक्रम गरिएको भएपनि निर्वाचन आयोगले दिएको खुला प्रचारप्रसारको अभियान आजदेखि औपचारिक रुपमा शुरु गरेको उहाँले बताउनुभयो ।
क्षेत्र नं. ५ मा जसपा नेपालका यादव सहित नेपाली कांग्रेसका फुलकुमार लालबानी, एमालेका मनोज अग्रवाल, नेकपामा शिवकुमार मण्डल, राष्ट्रिय उर्जाशिल पार्टीबाट निवर्तमान सांसद योगेन्द्र मण्डल, रास्वपाबाट आशा झा लगायतका उम्मेदवार प्रतिष्पर्धामा छन् ।