ज्येष्ठ नागरिकका सवाललाई प्राथमिकता दिएका छौं : महानगर प्रमुख कोइराला

विराटनगर ५ फागुन । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले ज्येष्ठ नागरिकहरुका सवालहरुलाई महानगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ । ज्येष्ठ नागरिकहरुको स्वास्थ्य, सचेतना लगायतका कार्यक्रम महानगरको प्राथमिकता क्षेत्र भित्र रहेको बताउनुभयो ।

नेपाल ग्रामीण विकास समाज केन्द्रले विराटनगर महानगरपालिकासँगको सहकार्यमा आज आयोजना गरेको ज्येष्ठ नागरिकका लागि राज्यबाट उपलब्ध सामाजिक सुरक्षा सेवा तथा सुविधाहरुको प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख कोइरालाले ज्येष्ठ नागरिकहरुको सुझावका आधारमा कार्यक्रम तय गरिने गरिएको बताउनुभयो । ज्येष्ठ नागरिकहरुको क्षेत्रमा कार्यरत संस्थाहरुले स्थानीय सरकार र ज्येष्ठ नागरिकवीच पुलको काम गर्ने गरेको बताउनुभयो । आगामी दिनमा पनि सहयोग गर्न महानगरपालिका तयार रहेको उहाँको बताउनुभयो ।

नेपाल ग्रामीण विकास समाज केन्द्रका अध्यक्ष मणिकुमार अज्र्यालले ज्येष्ठ नागरिकहरुको क्षेत्रमा निरन्तर काम गरिरहेको बताउनुभयो । ज्येष्ठ नागरिकहरुका सवालहरु स्थानीय, प्रदेश सरकारको कम प्राथमिकता भित्र पर्ने गरेको बताउनुभयो । उहाँले नेपाल ग्रामीण विकास समाज केन्द्रले ज्येष्ठ नागरिकहरुका लागि नियमित ब्यायाम, स्वास्थ्य परीक्षण, सचेतनामुलक कार्यहरु गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा नेपाल ग्रामीण विकास समाज केन्द्रका उपाध्यक्ष भुवनेश्वर मण्डल, सामाजिक अभियान्ता मीना जोशी, बरिष्ठ पत्रकार यज्ञ शर्मा लगायतले ज्येष्ठ नागरिकका क्षेत्रमा नेपाल ग्रामीण विकास समाज केन्द्रले उल्लेखनीय कार्य गरिरहेको बताउनुभयो ।

विराटनगर महानगरपालिकाको सहयोेगमा आयोजित कार्यक्रममा विराटनगर क्षेत्रका एक सय बढी ज्येष्ठ नागरिकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण विराटनगर महानगरपालिका राजश्व महाशाखा प्रमुख सरोज गौतम लगायतले गर्नुभएको थियो ।