जेनजी आन्दोलन र प्राकृतिक विपत्तिका कारण कोशी प्रदेशमा ५ अर्ब ३१ करोडको क्षति

विराटनगर २८ कात्तिक । जेनजी आन्दोलन र प्राकृतिक विपत्तिका कारण कोशी प्रदेशमा ५ अर्ब ३१ करोड ८५ लाखको क्षति भएको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार जेनजी आन्दोलनका क्रममा कोशी प्रदेश सरकारको मात्रै ७६ करोड ९५ लाख ४२ हजार रुपैयाँ क्षति भएको छ । गत असोज १७, १८ र १९ गतेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण ३ अर्ब ५६ करोड २७ लाख क्षति भएको थियो । बाढीका कारण ५६ वटा निजी घरमा क्षति पुगेको थियो । १३ वटा सरकारी भवनमा क्षति पुगेको थियो ।

१ सय ५८ वटा सडक, ३० वटा सडक पुल र ११ वटा झोलुंगे पुलमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा जम्मा २ सय ७७ वटा संरचनामा क्षति पुगेको हो । क्षति पुगेका संरचना पुनर्निर्माणको काम सुरु गरिएको भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले जानकारी दिए ।

विराटनगर महानगरपालिकाको मात्रै ९८ करोड ६३ लाख क्षति भएको थियो । महानगरको भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार २ सय ३४ रुपैयाँ बराबरको क्षति भएको छ ।

महानगरपालिकामा रहेको स्काभेटर, शववाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्दलगायत सामग्री नष्ट हुँदा ७५ करोड २५ लाख ६३ हजार ४ सय ८५ रुपैयाँ बराबरको क्षति भएको छ ।