विराटनगर २७ कात्तिक । कोशी प्रदेश सरकारले मोरङ कटहरीको तरकारी बजारमा रहेको संरचनामा प्रदेशसभा सार्ने निर्णयले स्थानीयवासी उत्साहित भएका छन् ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा विराटनगरमा रहेको प्रदेशसभा भवन आगजनीबाट क्षतिग्रस्त भएपछि प्रदेशसभा बैठक बस्न सकेको छैन । कटहरीमा प्रदेशसभा सार्ने निर्णयसँगै प्रदेशसभा सचिवालय स्थापना गरि काम शुरु गरिएको छ ।
प्रदेशसभा कटहरी वडा नं. १ मा तरकारी बजारका लागि निर्माण गरिएको संरचनाबाट सञ्चालन हुने खवरले स्थानीयवासी उत्साहित भएको वडाध्यक्ष हरिनारायण राजवंशीले जानकारी दिनुभयो ।
कटहरीमा प्रदेशसभा ल्याउनका लागि सो क्षेत्रका प्रदेशसभा सदस्य, स्थानीय जनप्रतिनिधिहरुले पनि पहल गरेको उहाँले बताउनुभयो ।
वडाध्यक्ष राजवंशीले भन्नुभयो,‘ सर्वदलिय बैठक र गाउँ कार्यपालिका बैठकबाट निर्णय गरि नि : शुल्क रुपमा प्रदेशसभाका लागि साढे ३ विगाहा क्षेत्रफलमा रहेको १६ करोडको संरचना उपलब्ध गराएका छौं ।’ उहाँका अनुशार जग्गा धनीपुर्जा पनि प्रदेश सरकारलाई हस्तान्तरण गरिसकिएको छ ।
प्रदेशसभा आएसँगै कटहरीको विकासले थप तीव्रता पाउने वडाध्यक्ष राजवंशीले बताउनुभयो ।
अध्यक्ष राजवंशीले भन्नुभयो,‘ गाउँपालिकामा प्रदेशसभा आएको छ । कटहरीलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन हुनेछ ।’ प्रदेश सभाका काम स्थायी रुपमा कटहरीबाट सञ्चालन होस् भन्ने हामीले अपेक्षा लिएको उहाँले बताउनुभयो ।
तरकारी बजारलाई थप व्यवस्थित बनाउन प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि २० लाख बजेट विनियोजन गरेकोबाटै प्रदेशसभाको कार्यालय व्यवस्थापन हुने वडाध्यक्ष राजवंशीले बताउनुभयो ।
उहाँका अनुशार तरकारी वजारलाई अहिलेको स्थानबाट २० मिटर पूर्व २ विगाहा जमिनमा सारिएको छ ।
तरकारी बजारका लागि संरचना निर्माण भएपनि सदुपयोग हुन सकेको थिएन प्रदेश सभा आएपछि खुशी लागेको स्थानीय कारि मण्डलले बताउनुभयो ।

