विराटनगर १० फागुन । नारदमुनि पवित्रादेवी लुइँटेल स्मृति कोषद्वारा स्थापित झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार अग्रज पत्रकार विनोद भण्डारीलाई प्रदान गरिने भएको छ ।
कोषद्वारा गठित पुरस्कार छनौट समितिको आइतबार विराटनगरमा बसेको बैठकले विगत साढे दुई दशकदेखि नेपाली पत्रकारितामा सक्रिय पत्रकार भण्डारीलाई पुरस्कृत गर्ने निर्णय गरिएको पुरस्कारका संस्थापक शंकर लुइँटेलले जानकारी दिनुभयो ।
नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्रले पत्रकार भण्डारीलाई पुरस्कृत गरिनेछ । संस्थापक लुइँटेलसहित प्रेस युनियनका केन्द्रीय उपमहासचिव अभयकुमार राई, प्रेस युनियनका कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित र पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक छनौट समितिमा रहेका थिए ।
विगत पाँच वर्षदेखि कोषले पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई नगदसहित पुरस्कार समर्पण गर्दै आएको छ ।
यसअघि सो पुरस्कारबाट पत्रकार विक्रम निरौला, अभयकुमार राई, विनोद सुवेदी र सुशीला पाठक पुरस्कृत भइसकेका छन् । घोषित पुरस्कार यही फागुन १७ गते मोरङको झोराहाटमा विशेष समारोह आयोजना गरेर समर्पण गरिने कोषका संस्थापक लुइँटेलले जानकारी दिए । कार्यक्रममा पत्रकारिता पुरस्कार समर्पणसहित शिक्षक सम्मान र छात्रवृत्तिसमेत प्रदान गरिनेछ ।