कोशी प्रदेशसभा सचिव खड्काको सपथ ग्रहण

विराटनगर २६ कात्तिक । कोशी प्रदेश सभाका नवनियुक्त सचिव सुदर्शन खड्काले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ ।

मोरङ कटहरीमा निर्माणाधीन प्रदेशसभा भवनमा उहाँलाई सभामुख अम्बर बहादुर विष्टले शपथ ग्रहण गराउनु भएको हो । सभामुख विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले आजै खड्कालाई प्रदेश सभा सचिवमा नियुक्त गर्नु भएको थियो ।

सपथ ग्रहण समारोहमा उपसभामुख सिर्जना दनुवार, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर आङ्वो, संसदीय समितिका सभापतिहरु लगायतको सहभागिता रहेको थियो ।

५६ वर्षीय खड्का भक्तपुर नगरपालिका–४, चाँगुनारायणका स्थायी बासिन्दा हुनुहुन्छ । यसअघि उहाँ संघीय संसद सचिवालयमा कार्यरत रहनु भएको थियो ।