इनरुवा अस्पतालमा ईको र इन्डोस्कोपी सेवा शुरु

सुनसरी, २१ साउन । सुनसरीको सदरमुकाम इनरुवा स्थित इनरुवा अस्पतालले पछिल्लो समयमा आफ्नो विभिन्न प्रविधि र सुविधा भित्रयाउने क्रममा शनिवार देखि ईको र इन्डोस्कोपी सेवा शुचारु गरेको छ ।

अस्पतालमा पेट आन्द्र कलेजो तथा मुटु सम्बन्धि रोग जाँच गराउन आउने विरामीहरुलाई लक्षित गरी ईको र इन्डोस्कोपी मेसिन जडान गरी एक कार्यक्रमको बिच जिल्ला समन्वय समितिका सभापति राजन मेहता र इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले संयुक्त रुपमा उदघाटन गरे संगै सो सेवा सुचारु भएको हो । कार्यक्रमका अध्यक्ष तथा अस्पतालका मेसु डा. देवराज घिमिरेले आफू बिमा रकम पहल गर्नका लागि सुचना प्रविधि तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की संग आग्रह गर्न गएको अवस्थामा अस्पतालको अवस्था बारेमा सोधखोज गर्दा थप सेवा विस्तारको लागि इको र इन्डोस्कोपी मेसिन ल्याउन सफल भएको बताउनु भयो । वहाँले सो मेसिल ल्यानका लागि सभासद सिताराम मेहता, प्रदेश सभासद राजिव कोइराला तथा इनरुवाका मेयर समेतको ठूलो भूमिका रहेको जानकारी दिनु भयो ।

तत्काल यी सेवाहरु संचालन गर्नका लागि विराटनगरको नोबेल अस्पतालका पेट आन्द्रा तथा कलेजो रोग विशेषज्ञ एमडि डिएम डाक्टर मोहन खड्काले निशुल्क स्वास्थ्य शिवार तथा स्वास्थ्य परिक्षण गरी सामाजिक सेवाको भावनाले अस्पतालमा सहयोग स्वरुप सेवा लिन आएका विरामीको इको तथा इन्डोस्कोपी गराई रहनु भएको मेसु घिमिरेले जानकारी दिनु भयो ।

सोही उदघाटन कार्यक्रममा नगर प्रमुख भण्डारीले इनरुवा नगर क्षेत्र भित्र रहेको गरिब विपन्न वर्गका लागि नगरले छुटयाएको २० लाख रुपैयाँको सेवा लिन अस्पताललाई जहिले पनि सहयोग गर्न प्रतिवद्ध रहेको बताउनु भयो । वहाँले इनरुवा आसपास क्षेत्रका विरामीहरुलाई इनरुवा अस्पतालको सेवा लिनका लागि नगरपालिकाबाट हुन सक्ने सहयोग सहकार्य तथा साथ रहि रहने बताउनु भयो ।