
विराटनगर १२ असोज । विराटनगरमा पाँचौं सडक महोत्सव हुने भएको छ । मञ्जिना मूभिज क्रियसनको आयोजनामा असोज ६ गतेदेखि पाँचदिने विराट सडक महोत्सव हुने भएको हो । मन्जिना मुभिजले आज पत्रकार सम्मेलन गर्दै पाँचौं सँस्करणका रुपमा आयोजना हुन लागेको सडक महोत्सव विगतका वर्ष झै महेन्द्र चोक–ट्राफिक चोक सडकमा नै हुने जनाएको छ ।
महोत्सवमा विभिन्न जातजातिका खानाका परिकारका साथै विभिन्न स्टार होटलमा पाईने खानाका परिकारहरु राखिएको हुनेछ । जहाँ सस्तो मूल्यमा अवलोकन कर्ताहरूले विभिन्न जातिका परिकारहरूको स्वाद लिन पाउने मन्जिना मुभिजका अध्यक्ष जतिन ताम्राकारले बताउनुभयो ।
आफ्ना संस्कृती र परम्परालाई जीवन्त राख्दै मनोरञ्जन समेत प्रदान गरिने महोत्सवमा विराटनगर तथा भारतका छिमेकी शहरहरूबाट समेत पाहुना आउने आयोजकको विश्वास छ । विगतका वर्षहरुमा दैनिक ९ हजार जना भन्दा बढीले अवलोकन गरेको अनुभवका आधारमा यस वर्ष अझै बढ्न सक्ने विश्वास ताम्राकारले ब्यक्त गर्नुभयो ।
करिब १२ लाख रुपैयाँ लागत अनुमान गरिएको महोत्सवमा प्रवेश शुल्क भने नलिने आयोजकले जनाएको छ । हरेक दिन स्थानीय कलाकारहरूका कलासहित सांस्कृतिक कार्यक्रम आयोजना हुने महोत्सवमा राष्ट्रिय कलाकार समेत ल्याउने तयारी भइरहेको सांस्कृतिक कार्यक्रमका संयोजक शुभम न्यौपानेले बताउनुभयो ।