नागरिकको स्वास्थ्यप्रति सम्वेदनशील छौं : स्वास्थ्य मन्त्री पौडेल

विराटनगर ७ भदौ । स्वास्थ्य तथा जनसङख्या मन्त्री प्रदीप पौडेलल नागरिकको स्वास्थ्यप्रति सम्वेदनशील भएर आधारभूत र विशिष्टकृत स्वास्थ्य सेवा केन्द्रमा जटिल रोगको उपचारको व्यवस्था गर्नका लागि छुट्याएको बताउनु भयो ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले नागरिकले सहज , सरल एवं न्यून शुल्कमा उपचार प्राप्त गर्नका लागि स्थानीय निकायमा स्वास्थ्य वीमा प्रथम सेवा केन्द्र र सरकारी अस्पताललाई विशिष्टकृत उपचार केन्द्रका रुपमा विभाजन गरेको जानकारी दिनुभयो । उहाँले आधारभूत र विशिष्टकृत स्वास्थ्य सेवा एकै ठाउँबाट दिँदा नागरिक लुटिएको हुनाले यसलाई छुट्याएको प्रष्ट पार्नु भयो ।

मन्त्री पौडेलले नेपालको संविधानले व्यवस्था गरे अनुसार स्थानीय निकायले आधारभूत स्वास्थ्य दिनु पर्छ भन्दै पालिकाले आफ्नो १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी असोज मसान्तसम्म स्थानीय निकायले प्रथम सेवा केन्द्रका रुपमा आधारभूत स्वास्थ्य सेवाका केन्द्र सञ्चालनमा ल्याउनु पर्ने बताउनु भयो । उहाँले कोशी अस्पताल विराटनगर विशिष्टकृत जटिल रोग उपचार केन्द्रको रुपमा खोलिएको अस्पताल भएको भन्दै यसले आफ्नो सेवा विस्तार गर्नुपर्ने सुझाव दिनुभयो ।

एक प्रश्नको जवाफमा मन्त्री पौडेलले दुवै सेवा एकै क्षेत्रमा उपलव्ध भएमा नागरिकलाई जटिल रोगको उपचारको समयमा स्वास्थ्य विमाको रकम समाप्त हुने भएकोले यस्तो व्यवस्था गरिएको जानकारी दिनु भयो ।

मन्त्री पौडेलले विशिष्टकृत अस्पतालमा जटिल आठ रोगमा उपचारका लागि स्वास्थ्य वीमाको रु दुई लाख र विपन्न वर्गको रु एक लाख गरी रु तीन लाखले उपचार सेवा प्राप्त हुने   बताउनुभयो । उहाँले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको माग अनुसार आगामी दुई दिनमा एमविविएसको ३० वटा सिट थप हुने जानकारी दिदै अन्य सरकारी शिक्षण अस्पतालले सिट थपको लागि कुनै माग नगरेको बताउनुभयो ।